
विराटनगर, १२ असोज । नेपाल प्रेस युनियन मोरङ शाखाको आठाँै जिल्ला अधिवेशन तथा पुरस्कार समर्पण समारोहमा आज यहाँ पाँच पत्रकार पुरस्कृत भएका छन् ।
पत्रकार भारती उपाध्यायद्वारा स्थापित अम्वे–मुरारी महिला पत्रकारिता पुरस्कारबाट सुशीला पाठक, शैलेजा आचार्य स्मृति पुरस्कारबाट मदनबाबु प्रसाईं, शैलेजा आचार्य स्मृति युवा पुरस्कारबाट नरेन्द्र बस्नेत, शैलजा आचार्य स्मृति महिला पुरस्कारबाट रञ्जिता पोखरेल र मायादेवी रिजाल स्मृति पुरस्कारबाट कुमोद अधिकारी पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशी जनही रु ११ हजार रहेको छ ।
सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्र बलियो हुनुपर्ने बताउनुभयो । उहाँले परिवर्तनका संवाहक सञ्चार क्षेत्रले आफ्नो भूमिकालाई सशक्त बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सञ्चारकर्मीले आफ्नो पेशालाई मर्यादित बनाउँदै व्यावसायिक बन्नुपर्ने बताउनुभयो । प्रेस युनियन मोरङ शाखाका सभापति मीनकुमार नवोदित श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्चारकर्मी विक्रम लुइँटेल, बन्धु पोखरेल, अजयबाबु शिवाकोटी, बाला अधिकारी र विजय सन्तोषी राईले बोल्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


