
झापा, २ बैशाख । झापाको मेचीनगर नगरपालिका–२ मा मंगलबार साँझ मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारको मृत्यु भएको छ ।
मेचीनगर–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्ग सडक खण्डमा तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पाँचथरको फिदिम नगरपालिका–१२ घर भई हाल मेचीनगर–२ बाहुनडाँगीस्थित बीओपीमा कार्यरत ३५ वर्षीय सहायक हवल्दार सचिन तामाङ गम्भीर घाइते भएका थिए ।
उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ६ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–१ घर भई सोही बीओपीमा कार्यरत ४० वर्षीय हवल्दार डिल्लिराम सुबेदी सामान्य घाइते भएका छन् । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी पोस्ट भृकुटीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


