
सन्तोष शर्मा
बनियानी, ३० भदौ । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको संख्या दोब्बरले बढेको छ ।
पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको संख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले बताउनुभयो । २०७८ साउन ११ गदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उहाँले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष १२ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उहाँले बताउनुभयो । “पहिला वर्षको पाँच÷छ जनाले सिफारिस लिने गरेका थिए”, उहाँले भन्नुभयो, “पछिल्लो समय क्यान्सर रोगीको संख्या बढ्दै गएको छ ।”
“अस्वस्थ्य खानपान र जीवन शैली नै क्यान्सरको मुख्य कुरा हो”, स्वास्थ्य शाखा प्रमुख यादवले भन्नुभयो, “सीमामा क्वारेन्टाइन राख्न जरुरी छ ।”
कचनकवल भारतसँग सीमा जोडिएको गाउँपालिका हो । यहाँका मानिस स–सानो खाद्य सामग्री समेत लिन सीमावर्ती भारतीय बजार जाने गर्दछन् । सीमामा क्वारेन्टाइन नहुँदा बिनापरीक्षण खाद्य सामग्री भित्रिने गरेको छ ।
झापाको बिर्तामोडस्थित कृषथोक बजारमा भारतबाट आयात हुने सागसब्जीमा विषादीको मात्रा धेरै पाइएपछि आयातमा कडाइँ गरिएको थियो । तर, यहाँका सीमावर्ती बजारबाट सागसब्जीदेखि अन्य घरायसी उपभोग्य वस्तु बिना परीक्षण सोझै भित्रिने गरेको छ ।
त्यस्तै, गाउँपालिकाबाट ११ जना मृर्गौला रोगी र सात जना मुटुसम्बन्धी रोगीले ले उपचार सहुलित र डाइलोसिसका लागि सिफारिस लिएका छन् । क्यान्सर रोगीलाई उपचार सहुलितका लागि भरतपुर क्यान्सर अस्पताल, भक्तपुर, धरान, पूर्वाञ्चल क्यान्सर अस्पतला बिर्तामोड लगायतका अस्पतालमा सिफारिस दिने गरेको छ । उक्त सिफारिसका आधारमा बिरामीले रू एक लाख बराबरको उपचारमा सहुलियत पाउने गरेका छन् ।
यता, गाउँपालिकाले समेत क्यान्सर रोगीलाई उपचारका लागि रू १० हजारदेखि रू २५ हजारसम्म आर्थिक सहयोग गर्ने गरेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । “उपचारमा सहयोग मिलोस् भनेर यातायात खर्चको रुपमा केही रकम सहयोग गर्ने गरेका छौं”, उहाँले भन्नुभयो ।
त्यस्तै, गाउँपालिकाले सुत्केरी महिलालाई पोषण खर्चवापत घरमै पुगेर रू तीन हजार र मृत्यु संस्कारमा रू पाँच हजार गाउँपालिकाबासीलाई दिने गरेको छ ।
संघीय सरकारको लगानीमा गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणाधीन छ भने एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, नौ वटा स्वास्थ्य चौकी र दुई आधारभूत स्वास्थ्य केन्द्रबाट गाउँपालिकबासीले स्वास्थ्य सेवा लिँदै आएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



