
झापा, २५ मंसिर । झापामा ‘विश्वास परियोजना’ सञ्चालनमा आएको छ । उपेक्षित तथा उष्ण प्रदेशीय रोग नियन्त्रण, मातृ शिशु स्याहार र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यमा सुधार गर्ने उद्देश्यले झापाका १० वटा पालिकामा उक्त परियोजना सञ्चालनमा आएको हो ।
फेयरमेड फाउण्डेशन नेपालको सहयोग र साहारा नेपालको संयोजनमा उक्त परियोजना सञ्चालनमा ल्याएको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । प्रदेश १ का गाउँपालिका तथा नगरपालिकामा कसैलाई पनि पछि नछोडी समुदायको स्वास्थयमा सुधार गर्ने मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।
विश्वास परियोजना झापाका १० पालिका र मोरङको ७ वटा गरी १७ वटा पालिकामा सञ्चालित छ । जिल्लाको झापा गाउँपालिका, कचनकवल, बाह्रदशी, हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, बिर्तामोड, कनकाई, गौरादह र मेचीनगर नगरपालिकामा परियोजना सञ्चालित छ ।
नेपालमा पाइएका १० उपेक्षित उष्णप्रदेशीय रोगहरु कुष्ठरोग, हात्तीपाइले, जुकाहरु, डेंगु र चिकनगुनिया, कालाजार, सर्पदंश, रेबीज, लुतो, फित्तेजुका र खस्रे रोग रहेको फेयरमेड फाउण्डेशनका अनुगमन विशेषज्ञ वेदप्रकाश शर्माले बताउनुभयो ।
“स–साना सावधानी र नियन्त्रण उपाय अपनाउँदा पनि निर्मूल÷ नियन्त्रण गर्न सकिने रोगहरु छन्”, उहाँले भन्नुभयो, “तर, पनि ती रोगहरु महामारीका रुपमा देखिने गरेका छन् ।” ती रोगबारे सचेतना जगाउने र नियन्त्रणका लागि काम गर्ने उद्देश्यले परियोजना सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
परियोजनाका कार्यक्रम संयोजक पवनकुमार राईले सामाज अन्धविश्वास, स्वास्थ्य सचेतनाको कमीले कुष्ठरोग, हात्तीपाइले, डेंगु लगायतका रोगहरु लुकेर रहेको बताउनुभयो । ती रोगबारे सचेतना जनाउने र निर्मूल पार्न अभियान लागि परेको बताउनुभयो ।
परियोजना अन्तरगत उष्ण प्रदेशीय रोगको जोखिम क्षेत्रमा सेचना कार्यक्रम सञ्चालन गर्ने, स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता विकास, मातृ शिशु स्याहार सेवा, अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण, आय आर्जन सम्बन्धी तालिम तथा सहयोग लगायतका कार्य गरिने संयोजक राईले जानकारी दिनुभयो ।
समुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने, समुदायका व्यक्तिहरुको क्षमता बृद्धि गरी स्वास्थ्य सेवामा पहुँच बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको साहारा नेपालका फोकल पर्सन मात्रिका सुवेदीले बताउनुभयो ।

यसैबीच, विश्वास परियोजनाको विषयमा सञ्चारकर्मीहरुबीच अन्तरक्रिया गरिएको छ । साहारा नेपालका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि सचिव महेन्द्रकुमार गिरीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सुझावसहित आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा परियोजनाका बारेमा परियोजना संयोजक पवनकुमार राईले स्पष्ट पार्नुभएको थियो भने आर्थिक साझेदार संस्था फेयरमेडका अनुगमन विशेषज्ञ वेदप्रकाश शर्माले संस्थाको उद्देश्यका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहारा नेपालका फोकल पर्सन मातृका सुवेदीले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



