
झापा, १५ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान चाड तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
तमु ल्होसारको अवसरमा उहाँले प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्नुभएको हो ।
उहाँले हस्ताक्षर गर्नुभएको शुभकामना सन्देशमा ‘तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय भेषभूषा लगाउने चलन छ । यो पर्वका बेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइहरूसँग रमाइलो गरिन्छ’ उल्लेख छ ।
‘नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । यो मुलुक सांस्कृतिक परम्पराको दृष्टिकोणले सम्पन्न मुलुक हो । विभिन्न भाषा, संस्कृति, भेषभूषा, संस्कारसहित आ–आफ्नो जातीय पहिचान मानव सभ्यताका आधार स्तम्भ हुन्’, उहाँले भन्नुभयो, ‘यस्तो विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।’
त्यस्तै, शुभकामना सन्देशमा ‘हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा तमु ल्होसारका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उल्लेख गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



