
भद्रपुर, १६ पुस । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक घटनाक्रमले काँग्रेसलाई नवीनतम स्वरूपमा रूपान्तरण भएर देश र जनताको सेवाका लागि अवसर आएको बताएका छन् ।
भद्रपुर १० स्थित चन्द्रगढीमा आयोजित वीपी स्मृति प्रतिष्ठानको साधारण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम निर्वाचनमा पहिलो दल भएर पनि प्रतिपक्षमा बस्नु पर्ने अवस्था संगठन सुद्धिकरण तथा नेतृत्वमा नवीन सोचका साथ संगठन निर्माणका लागि अवसर भएको बताएका हुन् ।
शर्माले सरकारमा नगए पनि राष्ट्रको उन्नतिका लागि काम गर्न कसैले रोक्न नसक्ने भन्दै स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरूले देश र जनताको उन्नतिका लागि निरन्तर काम गर्न सकिने प्रष्ट पारेका हुन् । उनले गठबन्धन टुट्नु नहुने थियो भन्दै अबको नेपाली राजनीति बामपन्थी र गैरबामपन्थी दुई ध्रुवमा बाँडिन सकिने समेत बताएका छन् ।
महामन्त्री शर्माले काँग्रेस रूपान्तरणको चरणमा रहेको भन्दै नेतृत्वले विगतका गल्ति अब नदोहोर्याउने वातावरण बनाएर गतिशील काँग्रेसका लागि निरन्तर लागिरहने संकल्प समेत गरेका छन् । सत्ता स्वार्थमा राजनीति अल्झदा राष्ट्रियता कमजोर हुँदै गएको स्मरण गर्दै शर्माले सवै दल राष्ट्रहितका लागि राष्ट्रियताको सवालमा एक हुनु पर्ने समेत प्रष्ट पारेका छन् ।
उनले देश भए नागरिक हुन पाइने भन्दै छिमेकी नीतिमा समान धारणा लिएर अगाडि बढ्ने हो भने आन्तरिक राजनीतिकमा विदेशी चलखेल नहुने समेत स्पष्ट पारेका छन् । उनले दुई शक्तिशाली छिमेकी देशसित समान व्यवहार गर्न सके नेपालको आर्थिक उन्नतिमा फाइदा लिन सकिने भन्दै भू राजनीतिलाई सही परिचालनको वातावरण आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौलाले काँग्रेसको राजनीतिलाई गतिशील बनाउन युवा पुस्ताले हस्तक्षेप गर्न नसकेको भन्दै पुरानो पुस्तालाई सम्मानित विदाई गर्दै नयाँ पुस्ताले नेतृत्व खोस्नु पर्ने अवस्था आएको बताए ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराई, शुशिला ढकाल, जिल्ला सभापति देउमान थेबे, क्षेत्रीय सभापति गणेश पोखरेल, पूर्व जिल्ला उपसभापति रामबहादुर कट्टेल, प्रजातान्त्रिक प्राध्यापक संघका उपाध्यक्ष मदन कट्टेल लगायतले मन्तव्य राख्दै यथास्थितिमा काँग्रेस चल्न नसक्ने भन्दै दुई महामन्त्रीको काँधमा काँग्रेस रूपान्तरणको अभिभारा आएकोले इमान्दारिताका साथ पूरा गर्न आग्रह गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष मोहनसिंह कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत भूमादेवी घिमिरेले गरेकी थिइन् भने सञ्चालन देवेन्द्र गौतमले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



