
भद्रपुर, १८ पुस । झापाको भद्रपुर–२ स्थित साना किसान कृषि सहकारी संस्थाको २४औं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको अवसरमा संस्थाले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई मरणोपरान्त अभिनन्दन गरेको छ भने भरतमोहन स्मृति विश्रामालय उद्घाटन गरिएको छ ।

साना चिया किसान विस्थापित हुने अवस्था सिर्जना भएका बेला तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले सहकारी चिया प्रशोधन कारखाना स्थापना गर्न रू तीन करोड १० लाख अनुदान उपलब्ध गराउनुभएको संस्थाकी अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।
“सहकारीलाई औद्योगिक युगमा प्रवेश गराउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ”, उहाँले भन्नुभयो, “चिया प्रशोधन कारखाना सञ्चालनमा आएपछि यहाँका साना चिया किसान विस्थापित हुने अवस्था अन्त्य भएको छ ।”

कार्यक्रममा अधिकारीसँगै राष्ट्रिय सहकारी बोर्डका सदस्य खेमबहादुर पाठक, कृषि विकास बैंक भद्रपुर शाखाका पूर्व अधिकृत जलनकुमार शर्मा, नेपाल कृषि सहकारी केन्द्रीय संघको महाप्रबन्धक रुद्र भट्टराई, साना किसान लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी प्रमुख झलेन्द्र भट्टराई र भरतमोहन स्मृति फाउण्डेशनका सचिव महेश आचार्यलाई अभिनन्दन गरियो ।
कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, संस्थाकी अध्यक्ष इन्दिरा निरौला लगायतले उहाँहरुलाई अभिनन्दन–पत्र प्रदान गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा संस्थाका उत्कृष्ट समूह ३९, उत्कृष्ट अन्तर समूह ७ (ख), उत्कष्ट बाल बचतकर्ता आस्मा दाहाल, उत्कृष्ट बाख्रा पालक मनिष दाहाल, उत्कृष्ट शेयर लगानी कर्ता कल्पना सुब्बा, उत्कृष्ट भैंसी पालक अर्जुन सुवेदी, उत्कृष्ट किसान धनबहादुर गिरी, उत्कृष्ट बंगुर पालक बसन्ती लिम्बू, उत्कृष्ट कर्मचारी सुरज अधिकारीलाई सम्मान गरिएको थियो ।

यस्तै, शेयर सदस्यका सन्ततीमध्ये सामुदायिक र निजीमा उत्कृष्ट अंक ल्याउने रिना पुरी, मिलन लिम्बू, लक्ष्मी अधिकारी र सविना तामाङलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
सहकारीमा हाल दुई हजार ३४२ जना शेयर सदस्यको रू ३ करोड १९ लाख ६० हजार चार सय शेयरपुँजी रहेको छ । सहकारीको ऋण लगानी रू १५ करोड ९७ लाख र बचत संकलन रू १९ करोड २० लाख रहेको छ । संस्थाले सदस्यलाई रू ४३ लाख ३६ हजार ब्याज छुट दिएको संस्थाका लेखा समिति संयोजक शिवकुमार राजभण्डारीले जानकारी दिनुभयो ।
सहकारीले २५ जना किसानलाई पशुपालन तालिम, २० जनालाई तीन महिने सामुदायिक पशु सहायक र २० जनालाई सामुदायिक कृषि सहायकमा तालिम दिएको छ ।
सहकारीमार्फत सञ्चालित चिया प्रशोधन कारखानाले किसाबाट १६ लाख ८९ हजार ६७९ केजी हरियो चियापत्ति खरीद गरी तीन लाख ६८ हजार ४४७ केजी तयारी चिया उत्पादन र एक लाख ८९ हजार ९७० केजी तयारी चिया बिक्री गरिएको सहाकारीका मुख्य प्रबन्धक देवीप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
कार्यक्रममा भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, नगरपालिकाका सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा भद्रपुर–२ वडाध्यक्ष राम कँडेल, मिना ढकाल, सुभास गौतम लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा अध्यक्ष निरौलाले अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक शिवकुमार राजभण्डारीले लेखा समितिको प्रतिवेदन, संस्थाका कर्मचारी चुडामणि खतिवडाले लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष तोयानाथ गौतमले सञ्चालन गरेको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक देवीप्रसाद कोइरालाले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



