
बिर्तामोड, २३ पुस । झापाको बिर्तामोडस्थित सुनकोशी बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको संस्थाले शनिवार बिर्तामोडमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको साधारण सभामा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत संस्थाकी उपाध्यक्ष रञ्जु बरालले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, जिल्ला सहकारी संघ झापा सदस्य केशवप्रसाद बस्नेत, झापा जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल पराजुलीले गरेका थिए ।
शुभकामना मन्तव्यका क्रममा सहकारी अधिकृत दाहालले नगरमा सञ्चालित सहकारीमध्ये १० औं स्थानमा पर्न सफल भएको बताए । बाह्य ऋण नलिने र संस्थाको पुँजीबाट सञ्चालन हुने सहकारीमध्ये सुनकोशी उत्कृष्ट सहकारी भएको उनको भनाइ छ ।
संस्थाले १६ औं बार्षिक साधारण सभामा उत्कृष्ट बालबचतकर्ता अनुष्का राजवंशी, रोहन पौडेल र सुहाना कडरियालाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट ऋणिका रुपमा शर्मिला तामाङ, संगीता कट्टेल र अम्बरबहादुर श्रेष्ठलाई सम्मान गरेको छ भने उत्कृष्ट बचतकर्ता मञ्जु विश्वकर्मा, मनोज पौडेल र होमनारायण राजवंशीलाई सम्मान गरेको संस्थाका सदस्य संजय पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/०७९ सम्ममा २ हजार १ सय ८३ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी २ करोड १ लाख २८ हजार रुपैयाँ रहेको अध्यक्ष ओडारीद्धारा प्रस्तुत प्रतिवेदनमा छ । अध्यक्ष ओडारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार बचत संकलन ११ करोड ५२ लाख ८८ हजार ५३६, बचत मौज्यात रहेको, कोष १ करोड ३२ लाख ४ हजार ७९३ रुपैयाँ १३ पैसा, कर्जा लगानी ११ करोड ६७ लाख ६३ हजार ३६१, कुल आम्दानी २ करोड २५ लाख ६६ हजार ८४७ रुपैयाँ २८ पैसा, कुल खर्च १ करोड ९९ लाख ८८ हजार ५८७ रुपैयाँ २४ पैसा, कुल कारोबार १५ करोड २४ लाख ८ हजार ७३३ रुपैयाँ ५१ पैसा र खुद नाफा २५ लाख ७८ हजार २६० रुपैयाँ ४ पैसा भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



