
झापा, २८ पुस । नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको हो ।
सो बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) रहेको समिति गठन गरेको छ । सोही समितिले सिफारिस गरेको आधारमा माओवादीबाट मन्त्री बन्नेछन् ।
माओवादी केन्द्रले प्रदेश १ मा रहेका ९ वटामध्ये २ वा ३ मन्त्रालय पाउने छ । दुईवटा मन्त्रालय पाउँदा माओवादीले पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण पाउने स्रोतको दाबी छ । तीन मन्त्रालय पाउँदा कृषि तथा भूमिसुधार मन्त्रालय पाउने स्रोतले बतायो ।
माओवादी पदाधिकारी बैठकका तीन निर्णय
यसैबीच मन्त्रीहरुको नाम सिफारिस गर्न बसेको माओवादी केन्द्र प्रदेशका इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, प्रदेश १ पार्टीका अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत पदाधिकारीको बैठकले मन्त्री बनाउने ७ जनाको नाम सिफारिस गरेको छ ।
जसको १ नम्बरमा संखुवासभाका राजेन्द्र कार्की, दोस्रो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईँ, तेस्रो नम्बरमा मोरङका गणेश उप्रेती, चौथो नम्बरमा मोरङकै जीवन आचार्य, पाँचौं नम्बरमा उदयपुरका राजेन्द्र किराँती, छैटौं नम्बरमा उदयपुरकै नारायण बुर्जा मगर र सातौं नम्बरमा सोलुखुम्बुका गोम्बु शेर्पा रहेका छन् ।
माओवादीले प्रदेश १ मा पर्ने साबिक लिम्बुवान, कोचिला र किराँत राज्यबाट एक–एक जना पर्ने गरी मन्त्री रिफारिस गर्ने निर्णय पनि गरेको छ । सोही बैठकले अढाई वर्षपछि फेरिने मन्त्रीमण्डलमा अहिलेका मन्त्रीलाई नदोहोर्याउने निर्णय पनि गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



