
बिर्तामोड, २ माघ । झापाको बिर्तामोडमा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव–२०७९’ हुने भएको छ ।
बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन ५ गतेदेखि १५ गतेसम्म व्यापार महोत्सव हुन लागेको हो । स्थानीय उद्योग–व्यापारको प्रबद्र्धनसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो ।
तीन लाखभन्दा बढी मानिसले महोत्सव अवलोकन गर्ने र करिब रू ४५ करोडको कारोबार हुने अपेक्षा राखिएको उहाँले बताउनुभयो । संघको आयोजनामा २०७५ मा सोही प्रकारको महोत्सव आयोजना गरिएको थियो ।
आर्थिक मन्दी तथा कोरोनाबाट पीडित भएका उद्योग–व्यवसाय फस्टाउन नसकेर व्यवसाय ओरालो लागेको अवस्थामा आर्थिक गतिविधि चलाउनमान बनाउन महोत्सव आयोजना गर्न लागिएको बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो ।
दोस्रो तथा तेस्रो मुलकसँगको निर्यात व्यापारलाई समेत बढावा दिने, आन्तरिक व्यापार–व्यवसायलाई चलायमान गराउने, नेपालमा उत्पादित कृषिवस्तु हस्तकलाका सामग्री लगायतको प्रदर्शन र प्रवद्र्धन गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार प्रवद्र्धन गर्ने लगायतका उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ ।
महोत्सवले आर्थिक गतिविधि चलायनमान हुने अपेक्षा राखिएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बताउनुभयो । “मुख्य त व्यापार व्यवसायको क्षेत्रलाई प्रबद्र्धन गर्नु नै हो”, उहाँले भन्नुभयो, “स्थानीय कृषि उत्पादनको भरपुर प्रचार–प्रसार गर्न महोत्वस सहायक हुने विश्वास छ ।”
महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त बंगलादेश, पाकिस्तान, भारत लगायत विदेशी वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादनहरु समेत गरी करीब २५० स्टलहरु रहने नेपाल उद्योग बाणिज्य महासंघ मेला महोत्सव संयोजक ललित सिम्खडाले जानकारी दिनुभयो । “अन्तर्राष्ट्रि मापदण्ड अनुसारको प्रविधियुक्त स्टलहरु निर्माण गरिनेछ”, उहाँले भन्नुभयो, “महोत्सवमा अब्बल प्रविधिको प्रयोग गर्दैछौं ।”
अक्टानोर्म तथा डोम विधिबाट विशिष्ठ खालका स्टलहरुले सजाइने महोत्सवमा कलाकृत्ति युक्त मुलप्रवेशद्वार तथा सेल्फी जोनको निर्माण गरिने उहाँले बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय तथा प्रादेशिक कलाकारहरुको प्रस्तुति, फेसनशो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।
बिर्तामोड उद्योग बाणिज्य संघको आयोजना तथा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १, प्रदेशभरका उद्योग बाणिज्य संघहरु, जिल्ला उद्योग बाणिज्य संघहरु, सामाजिक संघसंस्थाहरु समेतको सहकार्य रहने आयोजकले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



