
झापा, ७ माघ । इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुख बनेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद राना काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै उपसभामुख चुनिएकी हुन् ।
५२ वर्षीया रानामगरलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो । रानामगर मङ्सिर ४ गतेको चुनावपछि मात्र राजनीतिमा होमिएकी हुन् ।
कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय तथा शिक्षा दिन उनी ३३ वर्षदेखि सक्रिय छिन् । उनी हाल त्यस्तै दुई हजारभन्दा बढी बालबालिकाकी आमासमेत हुन् । बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष रानाको संस्थाले काठमाडौँ, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



