
भद्रपुर, १५ माघ । झापाको बिर्तामोड नगरपालिकामा पेन्टस् उद्योग सञ्चालनमा आएको छ ।
बिर्तामोड–२ मा रू नौ करोडको लागतमा सुप्रिम पेन्टस् उद्योग सञ्चालनमा आएको हो । २५ जनाको लगानीमा सञ्चालनमा आएको उक्त उद्योगबाट घरमा प्रयोग हुने सबै प्रकारका रंग उत्पादन हुने उद्योगका मुख्य सञ्चालक सरोज मैनालीले जानकारी दिनुभयो ।
“घरमा प्रयोग हुने गुणस्तरीय रंगहरु उत्पादन गर्ने सोचका साथ उद्योग सञ्चालन गरेका हौं”, उहाँले भन्नुभयो, “व्यापार समान्य भए पनि प्रयोगकर्ताबाट राम्रै प्रतिक्रिया पाएका छौं ।” उद्योग सञ्चानलमा आए पनि गुणस्तर चिह्न प्राप्त नभएको र गुणस्तर चिह्न प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
स्वास्थ्यका लागि हानिकारक मानिने ‘लिड’ (सीसा) शून्य अर्थात् प्रयोग नभएको कम्पनीका म्यानेजर सञ्जोग मैनालीले बताउनुभयो । “रंगहरुमा भोलाटाइल अग्र्यानिक कम्पाउण्डको मात्र प्रयोग गर्छौं”, उहाँले भन्नुभयो, “रंगको गुणस्तर र स्वास्थ्यलाई प्राथमिकता दिएका छौं ।”
सुप्रिम पेन्टस्का उत्पादन प्रदेश नं. १ सहित तीन वटा प्रदेशमा बिक्री वितरण भइरहेको सञ्चालक समिति सदस्य एलिस तिवारीले बताउनुभयो । झापामा ४० वटा भन्दा बढी डिलरबाट रंग बिक्री–वितरण भइरहेको छ ।
रंगमा प्रयोग हुने ८० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुने गरेको छ । उद्योगमा प्रयोग हुने मेसिनरी औजार भन्सार छुट (१ प्रतिशत भन्सार तिरेर) मा आयात गरिएको मुख्य सञ्चालक मैनालीले बताउनुभयो । उद्योग सञ्चालनमा आएसँगै १२ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।
यसैबीच, सुप्रिम पेन्टस्ले डिलर पेन्टर मिट गरेको छ । आफ्ना उत्पादनका बारेमा जानकारी दिन एवम् पेन्टस् प्रयोगविधिबारे जानकारी दिने उद्देश्यले शनिबार झापाको सुरुंगामा डिलर पेन्टर मिट गरिएको उद्योगले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



