
बिर्तामोड, २१ माघ । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार पत्रकारको पक्षमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसरमा आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले व्यवस्थित र सुरक्षित पत्रकार र पत्रकारिताको पक्षमा प्रदेश सरकार रहेको बताउनुभयो ।
“उपचार नपाएर पत्रकार मर्नुपर्ने अवस्था आउने छैन”, उहाँले भन्नुभयो, “कानून नै निर्माण गरेर व्यवस्थित सञ्चार प्रतिष्ठान निर्माण गर्छौं, जसको सुरुवात पनि भइसकेको छ ।” मर्यादित र व्यवस्थित सञ्चार प्रतिष्ठान निर्माणको काम थालिएको उहाँको भनाइ छ ।
जनताको भावनालाई सम्बोधन गर्ने गरी काम नभएकाले पछिल्लो समय प्रदेश सरकारको आलोचना भइरहेको उहाँले बताउनुभयो । सरकारले जनभावना अनुसार काम गर्नुपर्नेमा जोड दिँदै आफ्नो कार्यकाल जनभावनालाई सम्बोधन गर्नेतर्फ केन्द्रित गरेकाले मन्त्रालयको संख्या नौ वटामा सीमित गर्न लागिपरेको बताउनुभयो । “म धेरै मन्त्री र मन्त्रालय बनाउने पक्षमा छैन”, उहाँले भन्नुभयो, “कार्यबोझ धेरै भयो भने केही थप्न सकिन्छ ।”
कार्यक्रममा प्रेस चौतारी झापाले जिल्लाका अग्रज पत्रकारमध्ये पाँच जनालाई सम्मान र एक जनालाई अभिनन्दन गरेको छ ।
चौतारी झापाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन र अग्रज पत्रकारहरू नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल (मरणोपरान्त) लाई सम्मान गरेको हो ।
२५ औं स्थापना दिवसको अवसर पारेर झापा जिल्लाको पत्रकारितालाई उचाइमा पु¥याउन योगदान पु¥याउने व्यक्तित्वहरूलाई अभिनन्दन र सम्मान गरिएको चौतारी झापाका इञ्चार्ज सन्तोष आचार्यले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



