
झापा, २२ माघ । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तराष्ट्रिय व्यपार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको अन्तर संवादमा सहभागी व्यवसायिका प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाल सहित भारत , वंगलादेश, भुटान र पाकिस्तानका उत्पादनहरुले पनि स्टल वुकिङ गरेका छन् । महोत्सवमा दुई सय बढी स्टल रहने बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो । मित्रराष्ट्रबाट सहभागी हुन आएका व्यवासायीले सञ्चालन गरेको व्यवसायिक स्टल र उनीहरुको व्यापार शैलीका विषयमा यहाँका व्यवसायीले अनुसरण गर्दै आगामी दिनमा व्यपार व्यवसाय सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छलफलमा सहभागी वेदप्रकाश अग्रवालले बताउनुभयो ।
मेची डिष्ट्रिव्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले महोत्सव स्थल उपभोक्ता र अवलोकन कर्ताका लागि सुरक्षित, आकर्षक र मनोरञ्जनात्मक गन्तव्य स्थलका रुपमा निर्माण हुनु पर्नेमा जोड दिनुभयो । महोत्सवका विषयमा आइतवार मात्रै आयोजक समितिले मेची डिष्ट्रिव्युटर एशोसिएसन, कष्मेटिक डिलर एण्ड फुड एशोसिएसन, सौन्दर्य व्यवसायी संघ, छठ समाज सेवा समितिसंग छुट्टाछुट्टै छलफल र अन्तर संवाद गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



