
भद्रपुर, २४ माघ । झापामा ८१ वटा औद्योगिक–व्यावसायिक प्रतिष्ठान बन्द भएका छन् ।
चालू आर्थिक वर्ष पुस मसान्तसम्ममा उद्योगतर्फ ४३ र बाणिज्यतर्फ ३८ गरी ८१ वटा औद्योगिक–व्यावसायिक प्रतिष्ठान बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सो अवधिमा ३८२ उद्योग नवीकरण भएका छन् भने ६० वटा उद्योगले रू आठ करोड ७१ लाख ४५ हजार पुँजी थप गरेको कार्यालयले जनाएको छ । त्यस्तै, २४ वटा उद्योगले सुविधाका लागि सिफारिस लिएका छन् ।
त्यस्तै, चालू आवको पुस मसान्तसम्ममा बाणिज्यतर्फ ३८२ वटा फर्म दर्ता भएका छन् । ६२७ वटा फर्म नवीकरण भएका छन् भने ११२ वटाले रू १० करोेड ९१ लाख ७० हजार पुँजी बृद्धि गरेको कार्यालयको तथ्यांक छ ।
यता, कार्यालयले छ महिनाको अवधिमा रू एक करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले वर्गगत नयाँ उद्योग दर्तावापत रू २० लाख १० हजार सात सय, उद्योग प्रशासनतर्फ रू ३२ लाख ९८ हजार सात सय र बाणिज्य प्रशासनतर्फ रू ५० लाख ९० हजार ४०० गरी कूल रू एक करोड तीन लाख ९९ हजार आठ सय राजश्व संकलन गरेको कार्यालयका कर्मचारी चन्द्र पौडेलले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



