
बिर्तामोड, ४ फागुन । सभामुख देवराज घिमिरेले राजनीतिक विसंगतिविरुद्ध आफू एम्पायरको भूमिका रहने बताउनुभएको छ ।
झापाको बिर्तामोड नगरपालिकाले आज यहाँ आयोजना गरेको सभामुख र उपसभामुखलाई सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभामुख घिमिरेले जसरी खेललाई सही ढंगले खेलाउन एम्पायरको भूमिका महत्वपूर्ण हुन्छ, त्यसरी नै राजनीतिक विसंगतिलाई हटाएर संसदलाई सही ढंगले चलाउन आफू एम्पायरको भूमिका रहने बताउनुभयो ।
“सरकारमा बसेर सरकारको र संविधानको विरोध भइरहेको छ, संविधानको राजनीतिक संकट सिर्जना भइरहेको छ”, उहाँले भन्नुभयो, “संविधान संशोधनदेखि सरकारका हरेक कामलाई सही ढंगले सफल बनाउने भूमिका निर्वाह गर्छु ।” उहाँले देशको आवश्यकतालाई निष्कर्षमा पुर्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
मुलुकको प्रतिकूल अवस्थामा रहेका बेला महत्वपूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको उहाँले बताउनुभयो । दैनिक जीवन कष्टकर बन्दै गएको र देशको आर्थिक अवस्था जर्जर भएको बताउँदै उहाँले भन्नुभयो, “स्थिर सरकार, आर्थिक संकट समाधान र राष्ट्रपतिको निर्वाचनमा निष्पक्ष भूमिका निर्वाह गर्छु, चुनौतिपूर्ण अवस्थालाई सहज अवतरण गराउँछु, पक्षपात गर्दिनँ ।”
मुलुकलाई विकास र निकास दिन सबै राजनीतिक दलको साथ र सहयोग अनिवार्य रहेको उहाँले बताउनुभयो । पदीय जिम्मेवारीका कारण आफू काठमाडौंमै बसेपनि आफू निर्वाचित क्षेत्रको विकास, जनताको चाहना पूरा गर्न सदैव लागिरहेने उहाँको भनाइ छ ।
त्यस्तै, कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले देशको राजनीतिक अवस्था नाजुक भएकाले आफू सामाजिक जीवनबाट राजनीतिमा प्रवेश गरेको बताउनुभयो । “सडकबाट मात्र कराएर केही नहुने रहेछ”, उहाँले भन्नुभयो, “राजनीतिमा आएर सदनमा पुग्न आवश्यक देखेँ, त्यसैले राजनीतिमा आएको हुँ ।”
बालबालिका, ज्येष्ठ नागरिक र उत्पीडित महिलाको पक्षमा काम गर्ने विशेष सोचका साथ आफू राजनीतिमा होमिएको उहाँको भनाइ छ । मुलुकमा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति दिने चलनको अत्य गर्दै उहाँले सक्षमलाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएकाले सभामुख र उपसभामुखको भूमिका महत्वपूर्ण हुने सोही अनुरुप अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य एकराज कार्कीले महँगी र ब्याजका कारण सबै क्षेत्र आक्रान्त भएकाले यस विषयमा सरकारले विशेष कदम चाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा झापा, इलाम लगायतका विभिन्न पालिका एवम् संघ–संस्थाहरुले सभामुख र उपसभामुखलाई सम्मान गरेको थियो । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले स्थानीय समस्या र आवश्यकताका बारेमा सभामुख र उपसभामुखद्वयलाई अवगत गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिका कर्मचारी जय तिम्सिनाले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



