
बिर्तामोड, ५ फागुन । सभामुख देवराज घिमिरेले वर्तमान राजनीतिक अन्योलताको अत्य गर्दै दलहरुले नयाँ दिशा दिनुपर्नेमा जोड दिनुभएको छ ।
झापाको बिर्तामोडमा प्रेस चौतरी झापाले आज आयोजना गरेको पत्रकार भेटघाटमा सभामुख घिमिरेले मुलुकमा आर्थिक र राजनीतिक अवस्था प्रतिकूल रहेकाले दलहरुले सही दिशा दिनुपर्नेमा जोड दिनुभयो । “सरकारमै बसेर संविधान र संघीय गणतन्त्रको विरोध र समर्थन भइरहेको छ”, उहाँले भन्नुभयो, “मुलुक–राजनीति प्रतिकूल र चुनौतिपूर्ण अवस्थामा छ ।”
अर्थतन्त्र जर्जर भएकाले विकासका योजना कटौती, नयाँ कामहरु अन्योलमा परेको बताउनुभयो । मुलुकको आर्थिक अवस्था मजबुद बनाउन उत्पादकत्व बढाउनुपर्ने र विदेशिइरहेका युवालाई रोक्न सरकारले कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा सभामुख घिमिरेले राष्ट्रिय चयन सहमति र विमतिबाट नटुंगिने बताउनुहुँदै भन्नुभयो, “यो सहमति र विमतिबाट टुंगिने विषय नै होइन, निर्वाचन र मतदाताबाट टुंगिने विषय हो ।” देश र संविधान बुझेको असल र सबल व्यक्ति राष्ट्रपति हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
संसदको कार्यकालभित्र नै अभियोग–महाभियोग टुंगिनुपर्ने भएकाले पुरानो संसदको कार्यकाल सकिएसँगै अभियोग–महाभियोगको सकिएको बताउनुभयो । उहाँले पुराना विधेयकहरु निस्क्रिय भएको बताउँदै स्थगित भएका विधेयकहरु नयाँ प्रक्रिया र नयाँ शिराबाट आउने बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



