
सन्तोष शर्मा
झापा, २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै विकासको मूल नै शिक्षा भएको बताउनुभएको छ ।
झापाको हल्दिबारी गाउँपालिकाले सञ्चालनमा ल्याएको सीसी क्यामेरा एप्स उद्घाटन तथा खेलाडी सम्मान कार्यक्रममा सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रको विकास बिना हुने क्षेत्रको विकास सम्म्भव नभएको बताउनुभयो ।
“सबै विकासको मूल नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा सुधार अनिवार्य छ”, झापा क्षेत्र नं. ३ का सांसदसमेत रहनुभएका उहाँले भन्नुभयो, “प्राविधिक, जीवनोपयोगी र स्वरोगारमुखी शिक्षा वर्तमानको आवश्यकता हो ।” उहाँले भोलिको भविष्य आजको शिक्षाले निर्धारण गर्ने भएकाले शिक्षा क्षेत्रको समुचित विकास हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
शिक्षा क्षेत्रको विकासमा शिक्षकको भूमिका महत्वपूर्ण भएको बताउँदै उहाँले भन्नुभयो, “शिक्षक भनेको महत्वपूर्ण पद हो, जसको हातमा देशको भाग्य र भविष्य हुन्छ ।” शिक्षकले कक्षा कोठामा किताबको पाना पल्टाउने मात्र नभई रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका हाताभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उक्त एप्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । अबदेखि एप्सको माध्यमबाट अभिभावक, जनप्रतिनिधि र सोकारावालाहरुले अनलाइनबाटै विद्यालय अनुगमन हुनेछ ।
सीसी क्यामेरा जडानका लागि रू २४ लाख ८८ हजार खर्च भएको छ भने एप्स गाउँपालिकाका आइटीका कर्मचारीहरुले आफैँ निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताउनुभयो । गाउँपालिका हाताभित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा सीसी क्यामेरा जडान गरिसकिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



