
बिर्तामोड, २ चैत । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले भूमिहीन तथा अव्यवस्थित बसोबासीलार्इ जग्गादर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले अव्यवस्थित बसोबासीको एक परिवारलाई एक बिगाहसम्म जग्गाको लालपूर्जा उपलब्ध गराउँदा निःशुल्क र त्यसभन्दा माथि भए सरकारी मूल्यको ५ प्रतिशत राजश्व लिन सरकारसँग माग गर्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
त्यसैगरी, बैठकले स्वतन्त्र विद्यार्थी युनियनको यही चैत ५ गते हुने निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेद्वारहरुलाई विजयी गराउन आ–आफ्नो स्थानबाट सहयोग गर्न तमाम् विद्यार्थी समुदाय र पार्टीका जिल्ला कार्य समितिका पदाधिकारी सदस्य र तहगत समितिलाई परिचालन गर्ने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
त्यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै मतदान गर्ने सांसदहरु र उहाँलाई उम्मेद्वार बनाएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिने बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य रमेशकुमार दाहालकी माता चन्द्रकुमारी दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



