
झापा, ४ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले जनताको समस्याको साझेदारको रुपमा माओवादी केन्द्रले अभियान शुरु गरेको बताउनुभएको छ ।
झापा मेचीनगरमा झापा क्षेत्र नं. १ अन्तरगत ‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’को उद्घाटन गर्दै उहाँले जनताको मुद्दा सडक र सदनलाई व्यवस्थित गर्ने अभियानका साथ पार्टी अघि बढेको बताउनुभयो । “पार्टी र जनताको बीचको सम्बन्धलाई थप सुधार गर्दै अघि बढ्ने अभियान शुरु भएको छ”, उहाँले भन्नुभयो, “नागरिक–नागरिकबीचको असमानताको खाडललाई पुर्नका लागि अभियान सार्थक हुनेछ, त्यसका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।”
उत्पीडन र विभेदमा रहेकालाई मात्र नभई आमनागरिकको दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचारसहित समाज निर्माण गर्न माओवादी कार्यकर्ता तयार हुनसमेत उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा नेता झलकसिंह दर्लामीले जनताबीच विश्वास जगाउने गतिविधि गर्दै पार्टी रुपान्तरण अभियानमा जुटेको बताउनुभयो । नयाँ संविधान निर्माणपछि प्राप्त उपलब्धिलाई संस्थागत वर्तमान सरकार एकठाउँमा रहेको समेत उहाँको भनाइ थियो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रय सदस्य हरि राना, प्रदेश (ख) मेचीनगरका अध्यक्ष नरेन्द्र मेचे लगायतले पार्टीको अवस्था, जनगुनासोका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा मेचीनगरका नगर अध्यक्ष राजन चिमरियाले नगरको राजनीति अवस्थाको कार्यपत्र पेश गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



