
शिवसताक्षी, ८ चैत । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ ।
शिवसताक्षी नगरपालिका–१० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त वाल निर्माण कम्पनीलाई भत्काउन लगाएका छन् ।
निर्माण कम्पनीले निर्माण सामाग्री कमशल प्रयोग भएको जनगुनासोसँगै अनुगमनका क्रममा नगरप्रमुख थोप्राले उक्त वाल भक्ताएर पुन निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । माइधार दोमुखा सडक लामो समय पछि निर्माण हुन थालेको हो । यो सडक नगरपालिकाको गौरवसँग जोडिएको नगरप्रमुख थोप्राले जानकारी दिए ।
उनले भने, ‘गुणस्तरीय सडक निर्माण गर्न नगरपालिका लागि परेको छ । सडक तोकिएको मापदण्ड अनुसार नै बन्ने छ । हामीले वडा कार्यालय, स्थानीय उपभोक्ताहरु समेतलाई सडक निर्माण गर्दा अनुगमन गरिदिन आग्रह गरेका छौं ।’
सडकको सरदारे दोमुखा क्षेत्रमा कल्भर्ड र ह्युम पाइप राख्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । कल्भर्ड निर्माण गर्दा केही सामाग्री कमसल भन्ने कुरा आएपछि नगरप्रमुखको रोहबरमा उक्त सामाग्री हटाई पुन निर्माण गर्न लागिएको सतासी निर्माण सेवाका प्रोपराइटर लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले शिवसताक्षी नगरपालिका र स्थानीय उपभोक्ता, वडा कार्यालयलाई बेला बेलामा अनुगमन गरेर कमी कमोजोरी औंल्याइदिन समेत आग्रह गरेका छन् । ‘मजुदरले काम गर्दै जाँदा कहीँकतै कमजोरी हुन्छ तर हामी सच्याएर गुणस्तरी सडक निर्माण गर्न लागि परेको छौं’, उनले भने ।

कालोपत्रेका लागि ४ करोड २४ लाख ८३ हजार २४५ रकम विनियोजन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको २ करोड रकम रहेको छ । सडक ढलरहित ७ मिटर चौडाइ कालोपत्रे हुने छ । जसमा तीनवटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइप सडकमा लाग्ने स्टमेन्टमा उल्लेख छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



