
झापा, १३ चैत । कोशी प्रदेशको मन्त्रिपरिसदले विभिन्न पाँच निर्णय गरेको छ ।
आज बसेको बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलबलगुडी झापाको रिक्त निर्देशक पदमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
त्यस्तै, पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेश गरिएको दुईवटा संसोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने भएको छ ।
यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गर्ने, प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय, प्रदेश सभामा उपस्थित सम्पूर्ण राजनीतिक दलहरुलाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशबासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरिएको छ ।
यस्तै, कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत ५ गते विराटनगरमा भएको विरोध कार्यक्रममा घाइते चैत १० गते भई मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ भने तत्काल राहत स्वरुप मृतकका परिवारलाई तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानवीन समितिलाई सहजीकरण गर्ने निर्णय भएको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



