
भद्रपुर, १७ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टी, स्कूल विभाग झापाको आयोजनमा भद्रपुरमा आजदेखि शुरु भएको दुई दिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले मुलुकको समग्री विकास लागि अवरोधका रुपमा रहेका समस्या समाधान गर्न नेता कार्यकता लाग्नुपर्नेमा जोड दिनुभयो ।
“देशको समस्या पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।” त्यसका लागि आँट र हिम्मत भएको नेता–कार्यकर्ता हुन जरुरी रहेको बताउनुभयो ।
मुलुकको राजनीतिक कोर्ष फेर्न आफूहरुले योगदान गरेको चर्चा गर्नुहुँदै उहाँले सोको जिउँदो इतिहास रहेको बताउनुभयो । नेता कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशन समेत दिनुभयो ।
पुराना पुस्ताबाट अब युवा पुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै युवा पुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई सुझाव दिनुभयो ।
असल संस्कारसहित देशको गरिमा अघि बढाउन सचेत कम्ष्युष्टि योद्धाहरु अघि बढुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “कम्युनिष्ट र देश भक्त हामी हौं ।”
पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन आज पार्टीका अध्यक्ष नेपाल, उपाध्यक्ष झनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडा प्रशिक्षण दिनुभएको भने भोलि बरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धनर्मराज पौडेल प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



