
झापा, २ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सिरुवा पर्व नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि एक महत्वपूर्ण पूँजी भएको बताउनुभएको छ ।
राजवंशी समुदायको सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले त्यस्तो बताउनुभएको हो । उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा सिरुवा लगायतका पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेको बताउनुभयो । “हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो”, उहाँले भन्नुभयो ।
यस्तो छ मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देश
तराईमा बसोबास गर्ने अधिकांश आदिवासी समुदायको महान चाड सिरुवा पर्व २०८० को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
सिरुवा पर्व नयावर्षसँगै मनाउन सुरु गरिन्छ । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर लगायत तराई क्षेत्रका अन्य जिल्लाहरुमा सिरुवा पर्व धुमधामका साथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उरांव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।
यो पर्वलाई समय परिवर्तनको सङ्केतको रुपमा पनि मनाउने गरिन्छ । गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता प्रदान गर्छ भन्ने मान्यताका साथ यस पर्वलाई ’जुडशीतल’ पनि भन्ने गरिन्छ । सिरुवा जुडशीतलमा आदिवासी समुदायको नजिकमा रहेका धार्मिक स्थलमा मेला लाग्ने गर्दछ । यस्तो मेला वैशाख महिनाभरि नै ठाउँ अनुसार फरकफरक दिनमा लाग्ने गर्दछ । सिरुवा पर्वमा मेला लाग्ने स्थानमा ग्राम देवताको पूजा गर्ने प्रचलन छ । यसबाट उत्पादन बढी हुने जनविश्वास छ । जुडशीतल मनाउने दिन अग्रजले बालबालिकाको शीरमा पानी छर्कने र बोटबिरुवामा पानी हाल्ने चलन छ ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो ।
हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि छरिएर रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरुमा सिरुवा पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



