
भद्रपुर, १७ बैशाख । झापा क्षेत्र नम्बर १ तथा ३ को समृद्धिसित गासिएका अलपत्र आयोजना तथा नयाँ आयोजना सञ्चालनका लागि भद्रपुर नगर प्रमुखको नेतृत्व टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेसका महामन्त्री तथा झापा १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा र काँग्रेस नेता तथा झापा ३ का पूर्व सांसद कृष्णप्रसाद सिटौलाको समन्वयमा नगर प्रमुख पोखरेल नेतृत्व टोलीले प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयका मन्त्रीलाई भेटेर विकास परियोजना सञ्चालनको वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षणमा मेची नदी तटबन्ध र भद्रपुर नाकाको स्तरवृद्धिको माग राख्दै प्राथमिकता दिएर काम अडाडि बढाउन सुझाइएको छ ।
यस्तै झापाको मेचीनगरदेखि भद्रपुर हुँदै कचनकवलसम्म भारतीय सीमा नाका भएर बग्ने मेची नदीको दुवैतर्फ तटबन्ध र भद्रपुर–गलगलिया भन्सार नाकाको स्तर वृद्धिसहित अलपत्र जिपी भवन, अरनिको माविको भवन, चिस्यान केन्द्र लगायत विभिन्न निर्माणाधीन आयोजनालाई निर्माण सम्पन्न गर्ने वातावरण बनाउने माग सहित बुँदागत माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, सहरी विकास मन्त्री सीता गुरूङसित झापा १ र ३ को समृद्धिका लागि विगतबाट काम थालिएका र वर्तमान आवश्यकतामा रहेका विकास आयोजना सुचारू गराउन माग राखिएको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको कार्यालयमा झापा १ र ३ को अवस्था र आवश्यकता बारे जानकारी दिन कोसी प्रदेश सांसद गोपाल तामाङ, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ, मेचीनगर नगरपालिकाका पूर्वप्रमुख विमल आचार्य, नेपाली कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी लगायतको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेर विभिन्न बुँदागत माग राख्दै लिखित रूपमै ध्यानाकर्षण गराएको जनाइएको छ ।
सो टोलीले झापा क्षेत्र नम्बर १ र ३ का विभिन्न जनचासोका समस्याको बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउँदै ज्ञापन पत्र समेत बुझाएको भद्रपुर नगर प्रमुख पोखरेलले बताए । भारत भ्रमण जान लागेका प्रधानमन्त्री दाहाललाई मेचीनगरदेखि भद्रपुर हुँदै कचनकवलसम्म सीमा नाका भएर बग्ने मेची नदीको दुवैतर्फ तटबन्ध र भद्रपुर–गलगलिया भन्सार नाकाको स्तर वृद्धिका लागि भारत सरकारसँग पहल गर्न माग राखिएको नगर प्रमुख पोखरेलले बताए ।
उनका अनुसार भद्रपुर भन्सारले अधिग्रहण गर्न लागेको जमिनको क्षतिपूर्ति बापतको मुआब्जा रकम छिटोभन्दा छिटो पीडितहरूलाई उपलब्ध गराउन, भद्रपुर ८ स्थित गिरिराजप्रसाद कोइराला स्मृति भवन र भद्रपुर ३ स्थित अरनिको माविको भवनको काम तत्काल सुचारु गराउन, मेची रंगशाला भद्रपुरको स्तरोन्नतिसहित रात्रिकालीन लाइटको व्यवस्था, भद्रपुर विमानस्थलको विस्तार, आदिवासी संग्राहलय र साइन्स सिटी निर्माणका लागि आवश्यक बजेट, सघन सहरीमार्फतका सडक सञ्जाल निर्माण, जङ्गली हात्ती रोकथामका लागि सोलार फेन्सिङ जडान कार्यको विस्तार, भद्रपुर ३ स्थित मेचीपारि बस्तीमा स्वास्थ्य चौकी भवन निर्माण, चन्द्रगढ, किचकबध र कमलधाप पर्यटकीय क्षेत्र विकासको लागि आवश्यक बजेट विनियोजन, साबिक पृथ्वीनगर हाल भद्रपुर १, २ र ३ मा सघन सहरी विकासका थप योजना, भूमिहीन सुकुम्वासीलाई धनीपुर्जा दिँदा लिइने रकम निःशुल्क गर्नुपर्ने र साना चिया किसानहरूलाई सिँचाइ सुविधा दिइनु पर्नेमा औद्योगिक बनाए बनाएर समस्या सिर्जना गरेकाले निर्णय सच्याउनु पर्ने लगायतको माग प्रधानमन्त्री दाहाल समक्ष राखिएको उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



