
बिर्तामोड, १७ बैशाख । झापामा रेल्वेले ओगटेको जग्गाको रोक्का नेपाल सरकारबाट फुकुवा भएको छ । नेपाली कांग्रेस सभापति देउकुमार थेवेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष रेल्वेमा परेको क्षेत्रफल बाहेकको जग्गा फुकुवा नहुँदा झापालीहरु पीडित बनेको बिषय जानकारी गराएपछि मन्त्रीस्तरीय निर्णयबाट जग्गाको आंशिक फुकुवा भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
रेल्वेमा परेको जग्गाको सानो क्षेत्रफलले गर्दा सिङ्गो कित्ता नै रोक्का हुनु न्यायसंगत नभएको रेल्वे पीडित संघर्ष समितिले पटक–पटक आवाज उठाउँदै आएपनि यो समस्या समाधान हुन सकेको थिएन । कित्ता नम्बर एउटै भएपनि रेल्वेको नक्साले नभेटेको जमिनको क्षेत्रफललाई आंशिक फुकुवा गर्ने कार्यमा सहजीकरण गरेकाप्रति अर्थमन्त्री डा प्रकाशसरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, रेल्वे विभागका महानिर्देशक रोहित विशुराललगायलाई नेपाली कांग्रेस झापाको प्रतिनिधि मण्डलले धन्यावाद ज्ञापन गरेको झापा कांग्रेस सचिव नबिन बिमलीले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



