
झापा, २२ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उभौली पर्वको शुभकामना दिनुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले उभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजकहरु, अर्थात नेपालका किराँती समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व रहेको बताउनुभएको छ ।
“किराँत समुदायको महान् चाड उभौली पर्वको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
उभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजकहरु, अर्थात नेपालका किराँती समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व हो, जसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । यस उभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रुपमा पनि मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उभौली पर्व वसन्त ऋुतुमा पर्दछ । यस पर्वको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ जसमा प्रकृतिको आराधान गरिन्छ । यसरी ‘चण्डी नाच’ नाचिने पर्व भएकाले यस पर्वको पहिलो दिन ‘चण्डी पुर्णिमा’को नामले पनि परिचित छ ।
बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किराँतीहरुले ‘उभौली पर्व’ र बाली घर भित्राइने यामलाई ‘उद्यौली पर्व’को रुपमा मानिन्छ । यी दुबै याममा किराँती समुदायले प्रकृतिको पूजा–आजा गरी पर्वहरु मनाउनने गर्दछन् । यस समुदायले प्रकृतिमा रहेका रहेका हरेक तत्व जस्तै भूमि, जल, अग्नी, आकाश, वायु चन्द्र, सूर्य पशुपंक्षी र वनस्पतितको पूजा गर्ने गर्दछन् ।
यस पूजा–आजाको मूल सन्देश भनेको यी सबै तत्वहरु प्रति आभारी रहेर बाँच्नु र सधै तिनीहरुसँग कृतज्ञ रहनु नै हो । अर्थात जगतका हरेक प्रणाीले ‘जगतबाट विच्छेद भएर होइन एकाकार भएर बाच्नुपर्छ’ भन्ने महत्वपूर्ण सन्देश दिएको छ ।
मानव र प्राकृतिसँग गोहिरो सम्बन्ध रहेको उभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै उभौली पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



