
झापा, २२ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका महान गुरु भएको बताउनुभएको छ ।
राष्ट्रका गौरव एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले बुद्ध जयन्तीको अवसरमा देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
यस्तो छ शुभकामना सन्देश
बैशाख शुक्लपक्षको पूर्णिमाको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूले गौतम बुद्धप्रति भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्ध जयन्ती मनाउने गर्दछन् । लुम्बिनीमा जन्मेका सिद्धार्थले बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँचजना भिक्षुलाई उपदेश दिएर शुरु गरेको (धर्मचक्र प्रवर्तन) बौद्ध धर्म अहिले विश्वका प्रमुख धर्महरूमध्ये एक भएको छ ।
शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका महान गुरु हुन् । आज विश्व जगत बुद्धको यिनै आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । २५०० वर्ष भन्दा अघि बुद्धले प्राप्त गरेको ज्ञानको अविरल ज्योतिले विश्व मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।
बुद्ध जयन्तीको यस महत्त्वपूर्ण दिनले हामी सबैलाई एक आपसमा मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् साथै राष्ट्रियता तथा पारस्परिक एकता र आपसी सद्भावलाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् । हाम्रा जुनसुकै पर्वहरू सबै नेपाली मनहरुलाई राष्ट्रिय एकताको एउटै सुत्रमा बाध्ने माध्यम हुन् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित पुनः बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



