
झापा, ३ जेठ । सरकार सुशासन कायम गराउनेतर्फ अग्रसर हुँदै गएको भन्दै झापामा ‘उज्यालो पदयात्रा’ सम्पन्न गरिएको छ ।
भ्रष्टाचारीलाई कारबाही गरी मुलुकलाई समृद्धि र सुशासनतर्फ अघि बढाएको भन्दै विभिन्न जनवर्गीय संगठनले सरकारको समर्थनमा आज झापाका विभिन्न स्थानमा उज्यालो पदयात्रा आयोजना गरेका हुन् ।
सरकारको प्रशंसासँगै खबरदारीका लागि कार्यक्रम आयोजना गरिएको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिए । उनका अनुसार सरकार समृद्धिको उज्यालो यात्रातर्फ अघि बढेकाले सम्मान र समर्थन स्वरुप उज्यालो पदयात्रा आयोजना गरिएको हो ।

झापाको धुलाबारी, भद्रपुर, शिवसताक्षी, दमकमा मोबाइल र टर्च लाइट बालेर सरकारको समर्थनमा विभिन्न नारा लगाइएको थियो । भ्रष्टाचारीलाई कारबाही गर्न सरकार निर्मम भएर लागेको भन्दै चौतर्फी प्रशंसा भइरहेको बेला नेकपा माओवादी केन्द्रका विभिन्न जनवर्गीय संगठनको आयोजनामा कार्यक्रम भएको हो । ‘सामाजिक न्यायसहितको समृद्धि र सुशासनको लागि भ्रष्टाचार बिरुद्ध ऐक्यबद्धता र खबरदारी हाम्रो जिम्मेवारी’ लेखिएको व्यानर सहभागिहरुले बोकेका थिए । उनीहरुले ‘संगठित अपराध राष्ट्रघात हो, भ्रष्टाचार जनघात हो’, ‘अघि बढ प्रचण्ड जनता तिम्रो साथमा छ’ जस्ता नारा लगाएका थिए ।

भद्रपुर–५ स्थित नयाँ बसपार्कबाट शुरु भएको ¥याली भद्रपुर बजार हुदै भद्रपुर–६ स्थित पुरानो नगरपालिका अगाडि कोणसभामा परिणत भएको थियो । कार्यक्रममा विद्यार्थी नेता सन्देश विश्वकर्मा, नेकपा माओवादी केन्द्रका सदस्य पुकारचन्द्र राजवंशीले सम्बोधन गरेका थिए । शिखर पौडेलले सञ्चालन गरेका थिए । ¥यालीमा सहभागीहरुले ‘मुलुक उज्यालो तिर भ्रष्टाचारी जेल तिर’, ‘सरकार तिमी खुट्टा नकमाऊ, हामी साथमा छौं भ्रष्टाचारी समाऊ’, ‘देशलाई बदनाम गराउनेलाई, खुट्टा भाँच हराउनेलाई’, ‘मानव तस्कर देशद्रोही हुन्, खुट्टा नकमाइ सबैलाई थुन’, ‘सामाजिक न्याय र सुशासन, भ्रष्टाचारमुक्त प्रशासन’, ‘भ्रष्टाचारविरुद्ध एकता र जिम्मेवारी, हाम्रो प्रतिबद्धता सकारलाई खबरदारी’ लगायत लेखिएको प्लेकार्डसहित नारा लगाएका थिए ।
यता, दमक चोकबाट शुरु भएको पदयात्रा जेसीज चोक, इलाका प्रहरी चौकी, बसपार्क, लोकमार्ग हुँदै पुनः दमक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा माओवादी केन्द्रका दमक नगर अध्यक्ष रवि बस्नेत, वाइसिएलका केन्द्रीय सचिव डम्बर पुलामीलगायतले मन्तव्य राखेका थिए भने समापन अखिल क्रान्तिकारीका जिल्ला सचिव राजन चापागाईले गरेका थिए । कार्यक्रम पार्टी नगर कार्यालय सचिव डम्बर बोहोराले गरेका थिए ।
धुलाबारीमा भएको कार्यक्रममा क्षेत्रीय अध्यक्ष माधव अर्यालले सबै पार्टी विचारभन्दा माथि उठेर भ्रष्टाचार विरुद्ध एकजुट हुन आग्रह गरे । सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नाराका साथ काम गरिरहेको छ । भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउन नहुने भन्दै विभिन्न संघसंस्था लगायत राजनीतिक दलहरुले सरकारको खबरदारी गरिरहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



