
झापा, ५ बैशाख । झापाको बिर्तामोडमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले आज विरोध प्रदर्शन गरेको छ ।
पार्टीका नेता रेशम चौधरीसहित पार्टीका नेता तथा कार्यकर्तालाई रिहाइ र कोशी प्रदेश खारेजीको माग गर्दै आज झापाको बिर्तामोडमा विरोध प्रर्दशन गरेको हो । नेता चौधरीलाई बिना शर्त रिहाई गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, निर्दोष ठहर भएका थारु नेताहरुलाई क्षतिपूर्ति दिनुपर्ने, कैलाली टिकापुरको घटनालाई राजनीतिक मु्द्दाका रुपमा हेरिनुपर्ने लगायतका मागसहित निकालिएको ¥याली बिर्तामोडस्थित मुक्ति चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष अशोक चेम्जोङले मुलुकमा राजनीतिक परिवर्तन भए पनि देश विकास र पहिचानको आन्दोलन पूरा नभएको बताउनुभयो । पहिचानको आन्दोलनलाई अझ सशक्त बनाउन एकत्रित भएर अघि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अब निर्णायक आन्दोलन जरुरी छ, जसका लागि सबै पहिचानवादी एक हुन जरुरी छ ।” कोशी प्रदेश नामाकरण पहिचान विरोधी कदम भएको उहाँको भनाइ थियो ।
त्यस्तै, पार्टीका केन्द्रीय सदस्य दिनेशचन्द्र राजवंशीले सबै जातजातिको पहिचान समेटिनुपर्नेमा जोड दिनुभयो । पहिचानको आन्दोलन निष्कर्षमा नपुगेसम्म आन्दोलन नरोकिने उहाँको भनाइ छ । परिवर्तनका लागि रगत–पसिना बगाए पनि पहिचानविरोधीहरु हावी हुँदा वर्तमान अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

यस्तै, पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् कोशी नाम परिवर्तन आन्दोलन परिचालन समिति संयोजक धनबहादुर पङ्गधाकले विभिन्न चरणमा भएका सन्धी, सम्झौता र सहमतिको धज्जी उडाएर पहिचानविरोध कार्य भइरहेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उल्लेख गर्नुभयो । पार्टी नेता रेशम चौधरीलाई जेलमा राखेर सरकारले अन्याय गरेको बताउँदै उहाँले सर्वोच्च अदालतले पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मागलाई बेवास्ता गरे चुप लागेर बस्दैनौं, संघीयता र पहिचानको आन्दोलन जारी रहनेछ ।”
कोणसभाको सञ्चालन पार्टीका महासचिव दिलकुमार लावतीले गर्नुभएको थियो । यहाँले सरकारसँग वार्ता हुने तयारी भइरहेको समेत जानकारी दिनुभयो । विभिन्न माग राख्र्दै पार्टीले देशव्यापी रुपमा आन्दोलनको कार्यक्रम गरिरहेको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



