
सन्तोष शर्मा
बिर्तामोड, ६ जेठ । झापाको बिर्तामोडस्थि बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन नजिकिएसँगै यहाँ चुनावी सरगर्मी बढेको छ ।
ठूला–साना दलहरु नेतृत्व आफ्नो हातमा पार्न चुनावी कसरतमा जुटेका छन् । सोही सन्दर्भमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल एवम् स्वतन्त्र व्यक्तिहरु मिलेर ‘स्वतन्त्र प्रगतिशील प्यानल’ बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
नेतृत्वमा नौ सदस्यीय कार्यसमितिका लागि देवेन्द्र सिटौलाको नेतृत्वमा स्वतन्त्र प्रगतिशील प्यालन चुनावी मैदानमा उत्रिएको हो । संस्थाको उपाध्यक्षका लागि प्रदीप खरेल, सचिवमा विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशी, खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ र उमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुंगाना उम्मेदवार बन्नुभएको छ ।

आआफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिनुभएको उहाँहरुको एउटै भनाइ छ, बिर्तामोड खानेपानीलाई व्यवस्थित बनाउने ।
अध्यक्षका प्रत्यासी सिटौलाले हालको महसुल दर घटाएर २०० बनाउने, नयाँ धारा जडान १३ हजारबाट ९ हजारमा झार्ने, सडकमा निःशुल्क धारा जडान गर्ने लगायतको कार्ययोजना सुनाउनुभयो । उहाँले भन्नुभयो, “म बोल्ने भन्दा पनि काम गरेर देखाउँछु ।”
त्यस्तै, उपाध्यक्षका उम्मेदवार खरेलले पानी धेरै महँगो भएको बताउनुभयो । उहाँले संस्थामा केही काम भए पनि उपभोक्ताको अपेक्षा अनुसार काम नभएको उल्लेख गर्नुभयो । उहाँले सर्वसुलभ र गुणस्तर सेवा दिनका लागि उम्मेदवारी दिएको बताउनुभयो ।
यस्तै, सचिवका उम्मेदवार चुडालले संस्थाको कार्यालय व्यवस्थापनमा समस्या भएको बताउँदै संस्थामा सुशासन कायम गर्दै स्वच्छ र सर्वसुभल पानीको उपलब्ध गराउन आफू चुनावी मैदानमा उत्रिएको सुनाउनुभयो ।
यस्तै, सदस्य पदका उम्मेदवारहरुको भनाइ अरुको भन्दा भिन्न छैन । पानीको महसुल र धारा जडान महँगो, स्वच्छ पानी नभएका पानीमा स्वच्छता र शुद्धता ल्याउने, उपभोक्ताको हित र संस्थाको समग्र विकासका आफूहरुको उम्मेदवारी भएको उनीहरुको भनाइ छ ।
उम्मेदवारी घोषणा गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चुनाव प्रचार प्रसार समितिका संयोजक देवराज कार्कीले संस्थामा नेतृत्व चयनका लागि सहमतिको प्रयास गरे पनि सम्भव नभएपछि चुनावी मैदानमा उत्रिएको बताउनुभयो । उहाँले समक्ष उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएकाले जितका लागि कठिन नहुने उल्लेख गनुभयो ।
त्यस्तै, पत्रकार सम्मेलनका प्रमुख अतिथि एकराज कार्कीले खानेपानीमा राजनीतिकरण नगरी अघि बढ्न खोजे पनि सम्भव नभएपछि चुवानी अभियानमा लागको बताउनुभयो । समग्रमा बिर्तामोड खानेपानीलाई राम्रो बनाउने अभियानमा आफूहरु जुटेको बताउनुभयो ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य अरुण श्रेष्ठले बिर्तामोड खानेपानीलाई आमजनताको पक्षमा ल्याउन चुनावी मैदानमा उत्रिएको बताउनुभयो । पत्रकार सम्मेलनको सञ्चालन पत्रकार गणेश पोखरेलले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



