
झापा, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पहिचान पक्षधरलाई आन्दोलन गर्न छोडेर वार्ता र संवादमा आउन आव्हान गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित एक समारोहमा उनले आफ्ना गतिविधि शान्तिपूर्ण बनाउन र संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेका हुन् । प्रदेशसभामा सहभागी एमाले बाहेकका सबै दलहरूले सरकारलाई तत्काल वार्ता समिति बनाउन आग्रह गरिरहेका बेला मुख्यमन्त्री कार्कीले भने वार्ताको आव्हान गरेका हुन् ।
‘अघिल्लो ५ वर्ष हामीले प्रदेशको नामकरण गर्न सकेनौँ, नयाँ प्रदेश सभामाको निर्वाचनसँगै छैटौँ वर्षमा प्रवेश गरेपछि प्रदेशको नामकरण गरेका छौँ । कोशी नामकरणपछि यसको विपक्षमा रहनु भएका केही पहिचानवादी शक्तिहरूले यसको विरोधमा केही कार्यक्रमहरू गरिरहनु भएको छ । म उहाँहरूलाई आफ्ना गतिविधिहरू शान्तिपूर्णरुपमा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु,’ वार्ताको आव्हान गर्दै कार्कीले भनेका छन्, ‘संविधान र कानुनले प्रत्याभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरू भए आगामी निर्वाचन मार्फत कानुन र संवैधानिक प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गर्दछु । तपाइँहरुलाई आफ्ना हिंसात्मक गतिविधिहरू छाडेर सरकारसँग संवाद र छलफल गर्न आह्वान गर्दछु । हामी संवाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौ । विश्वका जुनसुकै ठुला समस्याहरू वा नेपालकै सन्दर्भमा पनि धेरै राजनीतिक घटना, परिघटनाहरू र असहमतिहरू वार्ता र संवादबाट नै सार्थक र सफल बनाएका छौँ, त्यसलाई परिणाममा पुर्याएका छौँ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



