
झापा, २४ जेठ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले सात वटा निर्णय गरेको छ ।
पहिचानवादीसँग वार्ताका लागि खानेपानी, सिचाई तथा ऊर्जामन्त्री तीलकुमार मेन्याङ्बोको संयोकत्वमा तीन सदस्य वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । टोलीका सदस्यहरुमा कोशी प्रदेश सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी रहनु हुनेछ ।
मन्त्रिपरिषदले प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संसोधन) अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । त्यस्तै, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेश गर्ने, कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृत गर्ने, खाँदबारी नगरपालिका संखुवासभाको वडाको सीमाना हेरफेर गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने, उच्चस्तरीय प्रशासन सुधार कार्यदलको म्याद थप गर्ने, प्रदेश सहयोग कार्यक्रमको सम्बन्धमा नेपाल सरकार र स्वीस सरकार बीच द्विपक्षीय सम्झौता नवीकरणको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई पत्रचार गर्ने, प्रदेशस्तरीय आयोजना छनौट तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८० र प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि २०८० लाई स्वीकृत गर्ने निर्णय गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



