
भद्रपुर, ५ असार । युवा तथा खेलकूद मन्त्री डिकबहादुर लिम्बूले खेलाडीको जीवन सुरक्षित गर्ने योजनामा सरकार रहेको बताउनुभएको छ ।
जिल्ला खेलकुद विकास समिति झापाको भद्रपुरस्थित मेची रंगशाला परिसरमा आज आयोजित स्वागत तथा कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री लिम्बूले खेलाडीको जीवन सुरक्षित गर्न सरकार खेलाडीको जीवन बिमा गर्ने योजनामा रहेको बताउनुभयो ।
“खेलको माध्यमबाट विश्व जित्न सकिन्छ”, उहाँले भन्नुभयो, “खेलाडीले मुलुकलाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान गरिरहनुभएकोछ, खेलाडीको जीवन परिमार्जन गर्ने योजनामा सरकार छ, खेलाडीको जीवन बिमा गर्ने नीति निर्माणको तयार गरिरहेका छौं ।” मन्त्री लिम्बूले खेलाडीलाई कडा महेनत गर्न र उच्च प्रतिफल निकाल्न अनुरोध समेत गर्नुभयो ।
खेलकुद क्षेत्रको विकासमा केही गर्ने सोचका साथ आफू लागि परेको बताउँदै उहाँले सीमित स्रोत र साधनका कारण सोचेजस्तो काम गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयबाट हुने र सकेसम्म काम गर्ने प्रतिबद्धता जनाउनुभयो । मेची रंगशालाका लागि चालू आव रू २० लाख बजेत समेत विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
राजनीतिक अस्थिरताका कारण देश विकास हुन नसकेको बताउँदै मन्त्री लिम्बूले खेलकुद, धार्मिक, सामाजिक क्षेत्रमा राजनीति गर्न नहुने धारणा राख्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



