
झापा, ५ असार । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का संरक्षक रेशमलाल चौधरीले पहिचान भनेको जातिवाद र जातीय विद्रोह नभएको बताएका छन् ।
झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित स्वागत, सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै चौधरीले त्यस्तो बताएका हुन् । चौधरीले आफु सानो छँदा भेडाबाख्रा चराउँदा गाइने गीतमा संस्कृति खोज्ने गरेको र आज त्यो संस्कृति बल्लबल्ल जिवित भएको देख्दा पहिचानको सही मुद्दा उठाएको आफुलाई लाग्ने गरेको बताए । उनले पहिचानको कुरा गर्दा आफुलाई झ्यालखाना पुर्याइएको समेत गुनासो गरे ।
कैलालीको टिकापुरमा २०७२ साल भदौ ७ गते घटेको घटनामा प्रहरीको प्रतिवेदनमा नै रेशमलाल चौधरी २३ किलोमिटर टाढा रहेको उल्लेख भए पनि आफुलाई दोषी ठहर गरिएको चौधरीले गुनासो गरे । उनले पहिचानको मुद्दालाई स्थापित गराउन आफुले भारतमा टेम्पो चलाएको, ठेलामा मम बेचेको तर रक्तिभर खुट्टा नकमाएको बताए । ‘यही पहिचानको आन्दोलनलाई स्थापित गर्नका निमित्त भारतमा ट्याम्पो चलाएँ मैले, दिल्लीमा दारुको पेटी बोकेँ, चण्डीगढमा मोमो बेचेँ तर रत्तिभर खुट्टा कमाइँन । मेरो मस्तिष्क विचलित गराइँन किनकी मेरो मनमा एउटामात्र सपना थियो–पहिचान,’ चौधरीले भने ।
यो देशको माटो सुँघेर थाहा पाउने भूमिपुत्रहरु आज देशद्रोही हुनुपर्ने ः? भन्दै उनले प्रतिप्रश्न गरे । भागेर जानेहरुले युरोप, अमेरिकामा घर बनाइसकेको तर यहाँका भूमिपुत्रहरु अहिले पनि स्वदेशमा नै बसेको चौधरीको भनाई थियो । यो देशमा धोती र टोपीको बहुत् लँडाई भएको र त्यो लडाँईमा पहिचान घुन जस्तै पिसिएको र पहिचानको माग माग्नेहरु भिखारी जस्तै बनेको चौधरीले बताए ।
संविधानप्रदत्त अधिकार माग्दा आफु जेल जानु परेको चौधरीले बताए । ‘आफ्नै देशभित्र अधिकार माग्दा, आफ्नै देशभित्र पहिचान माग्दा एउटो थारुको पुत्र, आदिवासीको छोरो, मुलबासीको नाति साढे आठ आठ बर्ष झ्यालखानामा बस्नु पर्दोरहेछ,’ उनले भने, ‘जुन बेला राज्य संचालकहरुसँग देशको सिमाना जोगाउन सिमेन्टका पिल्लरहरु राख्ने हैसियत थिएन त्यसबेला सालको खम्बमा गाडेर यो देशको सिमाना जोगाउने भूमिपुत्रका नाति हौँ हामी ।’
आन्दोलनमा मान्छे मर्नु र मारिनु नहुने बताउँदै चौधरीले टीकापुरको घटनामा शाहदत प्राप्त गर्ने सुरक्षाकर्मीको हत्या आफुले नगरेको चौधरीले प्रष्ट्याए । चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका झापाका एसएसपी लक्ष्मण न्यौपानेसहित सबैप्रति श्रद्धाञ्जली अर्पण गरे ।
उनले भने,‘शाहदत प्राप्त सुरक्षाकर्मीको हत्या रेशम चौधरीले गर्यो रु कसले गर्यो राज्यलाई थाहा छ, हामीले मुख खोलेका छैनौ,’ उनले भने,‘भाद्र ८ गतेपछाडी ९० दिनसम्म लागेको कर्फ्युमा हाम्रा चेलीबेटीको जसरी हुर्मत लुटियो, हाम्रा बाजे काकाकाकीको जसरी पिटियो त्यसको त हामीले केहि अभिव्यक्ति गरेका छैनौँ । केहि पोखेका पनि छैनौँ, मन हाम्रोपनि दुखेको छ, चित्त हाम्रोपनि दुखेको छ ।’ टीकापुर घटनामा सबैभन्दा बढी आफु पीडित भएको उनले बताए । सो घटनामा चौधरीले आफ्नो होटल, घर, गाडी जलेको सबै जलेको बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



