
झापा, १७ असार । कोशी प्रदेशमा सरकार गठनका लागि निर्णयक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काँग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल होला या नहोला भन्ने चौतर्फी चर्चा छ । चर्चाकै बीच राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै निवास झापामा राप्रपा कोशीका प्रदेशसभा संसदीय दलका नेता, सांसदहरु तथा पार्टीका पदाधिकारीहरुसहित छलफल राखेका थिए । छलफलले सरकारमा सहभागिताको निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष लिङ्देनलाई दिएको छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुखको जिम्मेवारीमा छन् । उनीबाहेक विपक्षी गठबन्धनसँग ४६ प्रदेशसभा सदस्य छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेशसभा सदस्य छन् ।
प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ सिट छ । एमाले र राप्रपाले सहकार्य गर्दै आएका छन् । विश्वासको मतका पक्षमा पनि एमालेबाहेक राप्रपाका सांसदहरुले मतदान गरेका थिए । तर, शुक्रवार मात्रै कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत गुमाएसंगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । जसका लागि प्रदेश प्रमुख परशुराम खापुंग आफै सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् ।
नयाँ सरकार गठनका लागि स्पष्ट बहुमत नभएपछि प्रदेश प्रमुख खापुंगले संविधानको धारा १६८ को कुन उपधाराद्वारा आव्हान गर्ने भन्ने अलमलमा परेको बुझिएको छ । जसका लागि कानूनी परामर्श भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको हिक्मत कुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने नेकपा एमालेले बताउँदै आएको छ ।
विपक्षी गठबन्धन दलहरुले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको बताइरहेका छन् । यस विषयमा शुक्रबार दुवैपक्षले छुट्टा–छुट्टै समयमा प्रदेश प्रमुख खापुङसँग छलफल गरेका थिए । प्रदेश प्रमुख खापुङसँग दलहरू परामर्शमा रहेका कारण आइतबार मात्रै सरकार गठनको आव्हान हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
सरकार ढलेसँगै अब नेतृत्वमा को आउने भन्ने चर्चा सुरु भइसकेको छ । मुख्य प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र माओवादीले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । उनीहरु आफ्ना पक्षमा सांसदहरुलाई ल्याउने प्रयत्नमा लागेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने संसदीय दलका नेता उद्धव थापाले नेतृत्व गर्ने सम्भावना छ । उनले यसअघि पटक पटक आफ्नो पार्टीले नेतृत्वको अवसर पाए आफू नै मुख्यमन्त्री हुने बताउँदै आएका छन् । यस्तै, माओवादीले पनि सरकारको नेतृत्वमा आफ्नो दाबी छाडेको छैन । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सरकारको अबको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने बताउँछन् । कोशी प्रदेशसभामा रहेको दलीय प्रतिनिधित्व हेर्दा सरकार बनाउन सकस पर्ने अवस्था आएको हो ।
कोशी प्रदेमा नयाँ सरकार गठनका लागि राप्रपा लचिलो देखिएको छ । सरकार गठनका लागि निर्णयक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काँग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल हुने संकेत गरेको छ । आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



