
झापा, ३ साउन । झापामा जननायक विश्वेश्वरप्रसाद कोइराला (वीपी) को प्रजातान्त्रिक समाजवादको चर्चा गरिएको छ ।
वीपीको ४१ औं स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेस बिर्तामोड नं. ५ वडा समितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा भएको विचार गोष्ठीमा कांग्रेस संस्थापक नेता वीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादका विषयमा चर्चा गरिएको हो ।
विचार गोष्ठीमा वीपीको राजनीतिक तथा साहित्यिक व्यक्तित्व, नेपालमा प्रजातन्त्र स्थापनाका लागि जीवनभर गर्नुभएको संघर्ष, अनुयायीहरुले अपनाउनुपर्ने जीवनशैली लगायतका विषयमा चर्चा–परिचर्चा गरियो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि तेजप्रसाद चौलागाईंले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा वीपीको विचार र व्यक्तित्व उत्तिकै लोकप्रिय रहेको बताउनुभयो । वीपीले आमनागरिकको जीवनस्तर सुधारका लागि ल्याउनुभएको नीति समयानुकूल परिमार्जन गर्दै कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड समेत दिनुभयो । “नेपाली माटोमा जन्मिएर यहाँको आवश्यकता अनुसार प्रजातान्त्रिक समाजवादी विचाराधारा वीपीले प्रवाह गर्नुभएको छ”, उहाँले भन्नुभयो ।
वीपीले धनी र गरिबबीचको वर्गीय अन्तर हटाएर सबै नागरिकको समान पहुँच स्थापित गर्ने लक्ष्य लिनुभएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले बताउनुभयो ।
कार्यक्रममा जिल्ला सदस्य लीला मैनाली, प्रकाश शिवाकोटी, घनश्याम चौधरी, युवराज प्रसाईं, कांग्रेस क्षेत्र नं. २ प्रदेशसभा (क) सभापति लक्ष्मीप्रसाद आचार्य, बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाई लगायतले मन्तव्य राख्दै पार्टीभित्र हाम्रालाई छोडेर राम्रालाई अवसर दिने पद्धति बसाल्न पार्टी नेतृत्व पंक्तिलाई आग्रह गर्नुभयो ।
कांग्रेस बिर्तामोड–५ वडा सभापति दिपक मेन्याङ्वो अध्यक्षतामा भएको विचार गोष्ठीमा वडा उपसभापति सुष्मा पौडेलले स्वागत एवम् सञ्चालन वडासचिव राजेशप्रसाद नेपालले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



