
झापा, ११ साउन । आज सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने छ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसला आज हुने भएपछि सरकारको आगामी यात्राका बारेमा निर्धारण हुने भएको हो ।
हिजो बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो । इजलासले आज फैसला सुनाउनेछ ।
असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा गत असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो । सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



