
भद्रपुर, १३ साउन । भारतको पश्चिम बंगाल र विहारसित सीमा जोडिएको भद्रपुर स्थित भन्सार कार्यालय राजश्व संकलनमा हरेक वर्ष तल झर्न थालेको छ ।
छोटी भन्सारका रूपमा रहँदा ३२ करोडसम्म वार्षिक राजश्व संकलन गरेको भद्रपुर भन्सारले आर्थिक वर्ष २०७९÷८० सम्म आइपुग्दा दश करोडमा सिमित हुनु परेको देखिन्छ । बंगलादेशका कपडाजन्य उत्पादन समेत यही बाटोबाट नेपाल भित्रने भद्रपुर भन्सारले अघिल्लो वर्ष १३ करोड राजश्व संकलन गरेकोमा यस वर्ष पाएको लक्ष्य समेत छुन सकेन ।
भद्रपुर भन्सार प्रमुख अमित तिवारी भने राजश्व घट्नुमा कोरोनाले ल्याएको मन्दी मुल कारण भन्दै बचाउ गर्छन् तर स्थानीय व्यापारीको भनाइ मान्ने हो भने भन्सार राजश्व चुहावटमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्मको सिण्डिकेट मूल कारण हो ।
दशकयता भद्रपुर नाकाबाट भित्रने कुनै पनि सामग्री घटेका छैनन् तर राजश्वमा दर्ता हुने क्रम एक तिहाइ मात्र रहेको आयात निर्यातमा संलग्न व्यापारीहरू स्वीकार गर्छन् । उनीहरूका अनुसार यस नाकाबाट भित्रने कपडा धरान, इटहरीदेखि काठमाण्डौसम्मका ठूला व्यापारीले लैजाने दर विगतकै हाराहारीमा छ । भन्सार राजश्वमा यसको देन निकै रहनु पर्ने हो तर वास्तविकता त्यस्तो छैन ।
केही कार्यालय सहयोगी तथा कम्प्युटरमा बस्ने कर्मचारी वर्षौंदेखि भन्सारमा निरन्तर कार्यरत रहेका कारण २ वर्षमा फेरिने अधिकृतसित व्यापारीको मिलिभगत गराएर राजश्व कम तिरेर सामान कटाउने विचौलियाको भूमिकामा उनीहरू रहने गरेको व्यापारी कै भनाइ छ ।
यस नाकाबाट मेसीनरी पार्टपूर्जा, कपडा, रासायनिक विषदी, चप्पल जुत्ता, कृषि उपकरणका पार्ट, सुर्ति लगायत आयत हुने गरेको छ । पछिल्लो समय राजश्व बढी संकलन हुने सुर्ति तथा मेसीनरी पार्टपूर्जाबाट कम परिणाममा बैध बाटोबाट आउँदा राजश्व संकलनको परिणाम हरेक वर्ष घटिरहेको कर्मचारीहरूकै स्वीकारोक्ति छ ।
चोरी तस्करी नियन्त्रणका लागि परिचालित पुलिस प्रशासन तस्करको सेटिङमा अलमलिरहँदा मातहतका छोटी भन्सार नाकाहरू राजश्व छल्ने प्रमुख केन्द्र बन्न थालेका छन् । मेची भन्सारको कार्य क्षेत्र भित्र पर्ने इलामको पशुपति नगर, झापाका नकलबन्दा, सतीघट्टा, गौरीगञ्ज लगायतबाट वारपार व्यापार फष्टाइ रहेका छन् भने भद्रपुर भन्सार अनर्तगतका केचना, घेरावारी, पिण्डालवारी, टागनडुब्बा लगायत नाका राजश्व छलीका लागि सहज बन्ने गरेका छन् । भद्रपुर भन्सारमा विभिन्न बाहना बनाएर कर्मचारीले ठूला व्यापारी मैत्री काम गर्ने गरेको साना व्यापारीहरूको दुखेसो छ ।
भद्रपुर नाकाबाट कपडा, सवारी साधनका पार्टपूर्जा, इलेक्ट्रोनिक्सका सामान, मेसिनरी पार्टपुर्जा, रसायनिक विषदी, सुर्ति जन्य पदार्थ बढी मात्रामा तस्करीका माध्यमबाट भित्रने गरेको भए पनि नियन्त्रणमा सरोकारवाला नलाग्दा राजश्व संकलन बढी प्रभावित भएको स्थानीय बताउँछन् ।
व्यापारका सम्बन्धित व्यक्तिहरूका अनुसार प्रहरी प्रशासन कै मिलिभगतमा राजश्व छल्ने काम हुने गरेको छ । नयाँ हाकिमहरूमा नयाँपन हुँदासम्म चोरी तस्करीमा कडाइ जस्तो हुन्छ तर पुरानोपन प्रवेशपछि सहज वातावरण बन्ने व्यापारीहरूको स्पष्ट भनाइ छ । साधा पोशाकमा छोडिएका घुमुवा प्रहरी तस्करको सेटिङ मिलाउने काममा व्यस्त हुँदा भन्सार तिर्नेभन्दा छल्ने व्यापारीको संख्या बृद्धि भइरहेको जनाइन्छ । भन्सार कर्मचारी भने भन्सारमा सामान नआएर लक्ष्य पूरा नभएको दाबी गर्छन् तर स्थानीय व्यापारी, प्रहरी र भन्सार कर्मचारी कै मिलिभगतमा भन्सार घटी काटिने प्रबृत्तिले राजश्व संकलन प्रभावित भइरहेको प्रष्ट छ ।
यस्तै, पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ ।
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा १७ अर्ब ५३ करोड १९ लाख २८ हजार र आर्थिक वर्ष २०७७÷७८ मा रू १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार राजस्व असुली गरेको भन्सार कार्यालयको विवरणले देखाउँछ ।
आव २०७८÷७९ को तुलनामा आव २०७९÷८० मा तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार राजस्व कम सङ्कलन भएको देखाउने विवरणले पनि चुहावटकै संकेत गरिरहेको छ ।
पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व सङ्कलनमा असर परेको भन्सारको प्रष्टिकरण रहेको छ । कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार ह्रास आइरहेको समेत जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



