
सन्तोष शर्मा
झापा, १७ साउन । झापामा एक वर्षमा नौ सय २७ जना नयाँ उद्यमी थपिएका छन् ।
जिल्लामा गत आर्थिक वर्ष २०७९÷०८० मा चार सय ६७ महिला र चार सय ६० पुरुष गरी नौ सय २७ जना नयाँ उद्यमी थपिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख उद्योग अधिकृत प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । गत आवमा दर्ता भएका आठ सय ८६ नयाँ उद्योगमार्फत् ती नयाँ उद्यमी सिर्जना भएको उहाँले बताउनुभयो ।
गत आवमा उत्पादनमूलक एक सय ४४, कृषि तथा वन पैदावारमा आधारित तीन सय ६५ र सेवामूलक तीन सय ७० नयाँ उद्योग दर्ता भएका छन् । जसमा नौ सय सात महिला र एक हजार एक सय १७ जना पुरुष गरी दुई हजार २४ जनाका लागि रोजगारीको ढोका खुलेको छ ।
दर्ता भएका सबै उद्योगको स्तर साना प्रकृतिका छन् । गत आवमा एक सय एक उद्योग बन्द समेत भएको कार्यालयले जनाएको छ ।
उद्योग दर्ता घट्यो
झापामा उद्योग दर्ताको संख्या भने आव २०७८÷०७९ को तुलनामा करिब ६० प्रतिशत घटेको छ । अघिल्लो आव २०७८÷०७९ मा एक हजार नौ सय ८८ नयाँ उद्योग दर्ता भएका थिए । आव २०७४÷०७५ यता छ वर्षको अवधिमा झापामा २५ हजार छ सय ९७ वटा उद्योग दर्ता भएका छन् ।
आव २०७९÷०८० मा छ सय ६८ वटा उद्योगले नवीकरण, ३३ वटाले नामसारी, आठ वटाले ठाउँसारी, ३८ वटाले उद्देश्य थप, २४ वटाले सुविधाको सिफारिस, ५६ वटाले प्रतिलिपी, एक सय ३३ वटाले पुँजी थप र सात वटा उद्योगले नाम परिवतर्न गरेको कार्यालयका कर्मचारी चन्द्र पौडेलले जानकारी दिनुभयो । सो अवधिमा दुई सय ५६ वटा उद्योगको निरीक्षण समेत गरिएको छ ।
वाणिज्यतर्फ पनि आधा घट्यो
कार्यालयमा आव २०७९÷०८० मा वाणिज्यतर्फ छ सय एक वटा फर्म दर्ता भएका छन् । जुन आव २०७८÷०७९ को तुलनामा आधाले कम हो । गत आव २०७८÷०७९ मा जिल्लामा एक हजार दुई सय २० वटा नयाँ फर्म दर्ता भएका थिए । आव २०७४÷०७५ यता छ वर्षको अवधिमा झापामा १८ हजार एक सय ४८ वटा फर्म दर्ता भएका छन् ।
आव २०७९÷०८० मा वाणिज्यतर्फ छ सय २७ फर्मले नवीकरण, २५ वटाले उद्देश्य थप, एक १२ वटाले पूँजी बृद्धि, पाँच वटाले नामसारी र ४६ वटा फर्मले प्रतिलिपि लिएका छन् ।
उद्योग र वाणिज्यतर्फ गरी कार्यालयले आव २०७९÷०८० मा रू एक करोड ८० लाख छ हजार दुई सय राजश्व समेत संकलन गरेको छ ।
उद्योगतर्फ रू ९८ लाख ४४ हजार आठ सय र वाणिज्यतर्फ रू ८३ लाख ६१ हजार चार सय गरी रू एक करोड ८० लाख छ हजार दुई सय राजश्व गरिएको कार्यालयका कर्मचारी पौडेलले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



