
बिर्तामोड, ८ असोज । सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा तथा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पनन भएको हो । अध्यक्ष श्रेष्ठले सञ्चालक समितिको तर्फबाट तयार गरिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ७ हजार ९९ जना शेयर सदस्य, ७ करोड ८८ लाख ६ हजार ४०० रुपैयाँ शेयर पुँजी, जगेडा कोष र अन्य कोषहरु ७ करोड २४ लाख ७५ हजार ७३३ रुपैयाँको रहेको जानकारी दिनुभयो ।

असार मसान्तमा निक्षेप मौज्दात ४५ करोड १४ लाख ६६ हजार ६२२ रुपैयाँ रहेको तथा बाह्य ऋण १७ करोड २७ लाख ४२ हजार ९९१ रुपैयाँ तिर्न बुझाउन बाँकी रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सतासी बहुउद्देश्यीय सहकारीका सदस्यहरु माझ संस्थाको ५५ करोड २० लाख ९१ हजार ९८५ रुपैयाँ कर्जा लगानीमा रहेको तथा समीक्षा वर्षमा संस्थाले २० लाख ६० हजार २१४ रुपैयाँ खुद मुनाफा कमाएको अध्यक्ष श्रेष्ठले बताउन्ुभयो ।
साधारणसभा समारोहमा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै चालूवर्षका लागि केही नयाँ थप गरी अधिकांश पुराना योजना तथा कार्यक्रमहरुलाई निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो । संस्थाले सदस्यहरुको सीप अभिवृद्धि गरी स्वरोजगार बनाउन सीपमुलक तालिम सञ्चालन गर्नेछ भने सदस्यसँग सतासी कार्यक्रम मार्फत् सदस्य परिवारको सुखदुःखमा संस्थाको उपस्थिति रहने उल्लेख छ ।
सतासीले विगतदेखि नियमित गर्दै आएको सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु, स्वास्थ्य शिविर, अन्तरक्रिया, जनचेतनामुलक कार्यक्रम, बालउमङ्ग कार्यक्रम तथा विभिन्न तहका तालिमहरु सञ्चालन गर्न बजेट विनियोजन गरिएको अध्यक्ष श्रेष्ठले प्रस्ताव गर्नुभएको छ । सहकारीमा दोहोरो सदस्यता न्यूनीकरणको प्रमुख अस्त्र मानिएको सहकारी–सहकारी बीचको एकीकरणलाई सदैव खुल्ला राखेको जनाउँदै सञ्चालक समितिलाई सो प्रक्रिया अवलम्बन गर्न साधारणसभा समक्ष अख्तियारी पनि मागेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेलले नेपालका कतिपय सहकारीका सञ्चालकहरुमा उत्पन्न लोभीपापी प्रवृत्तिका कारण सहकारीमा समस्या उत्पन्न भएको बताउनुभयो । उपाध्यक्ष पोखरेलले केही सहकारीका कारण सिङ्गो अभियान माथि नै औंला ठड्याउने गरिएको र सरकारले पनि ऐन एवम् नीति नियमहरु कार्यान्वयन नगर्दा यसप्रति नकारात्मक भाव सिर्जना भइरहेको प्रष्ट पार्नुभयो ।
देशभर ३२ हजारभन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा रहेका र माथि उल्लेखित समस्या ५०० हाराहारीमा मात्र रहेको भए पनि यसले अभियानलाई नराम्ररी गाँजिरहेकाले सहकारीका सदस्यहरु स्वयम् चनाखो भई आफ्नो संस्था सञ्चालन गर्न उहाँको सुझाव छ ।
सतासी बहुउद्देश्यीय सहकारी संस्थाले योगदानमा आधारित रहेर आफ्ना सदस्यहरुको परिवारमा जन्मदेखि मृत्युसम्मका अनेकन घटनाहरुमा सहयोग गर्ने गरेको थाहा पाउँदा खुसी लागेको बताउँदै राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्षसमेत रहेका उपाध्यक्ष पोखरेलले भने, ‘सदस्यहरुको सुखदुखमा गरिने सहयोग नै सहकारी भावना हो । यसलाई सबै सदस्यले उपयोग गर्न सक्ने गरीको सजिलो बनाउन मेरो सुझाव छ ।’
साधारणसभा उद्घाटन समारोहका अर्का वक्ता कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले मन्तब्य राख्दै लघुवित्त र सहकारीहरुको ऋण नतिर्न उर्दी गर्दै हिड्ने समूहलाई सदस्यहरुले नै मिलेर लखेट्न आह्वान गर्नुभयो ।
‘सहकारीमा जम्मा भएको पैसा तपाईं हामी हजारौं सदस्यहरुले दुःखले कमाएको सानो सानो रकम नै हामी भित्रैका थोरै सदस्यहरु माझ कर्जाका रुसमा लगानी गरिएको हुन्छ’ अध्यक्ष श्रेष्ठले आफ्नो आह्वानलाई थप प्रष्ट्याउँदै भने, ‘अनि हामी सदस्यहरुलाई नै आफ्नै रकम डुवाउने र नकारात्मक असर पार्ने गरी उकास्ने अराजक समूहलाई सदस्यले नै नलखेटेर हुन्छ ?’
साधारणसभाको गरीमा र महिमालाई सदस्यहरुले भत्ता पाउँने अवसरका रुपमामात्र नबुझ्न सुझाव दिँदै कर्णाली साकोसका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यो साधारणसभा हल सेयर सदस्यहरुले संस्थाको नीति तथा कार्यक्रम माथि प्रश्न उठाउने, छलफल गर्ने, सञ्चालक तथा कर्मचारीहरुको वित्तीय व्यवहार माथि प्रश्न गर्ने, आगामी वर्षका लागि सदस्य लक्षित कार्यक्रमहरु बनाउन सुझाव दिने महत्वपूर्ण फोरम भएकाले सक्रियतापूर्वक सहभागी हुन आवश्यक छ । तपाईंहरु प्रतिनिधि बनेर आएपछि यस विषयमा पक्कै जिम्मेवार बन्नुहुनेछ ।’
संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको साधारणसभा उद्घाटन समारोहमा आमन्त्रित पाहुना तथा सहभागी प्रतिनिधि सेयर सदस्यहरुलाई उपाध्यक्ष सुजता गुरुङ थापा मगरले शाब्दिक स्वागत गर्नुभएको थियो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



