
झापा, १३ असोज । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आईएक्स) को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ। भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउने भएको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउने छ ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको हो ।
प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷८१ को साउन र भदौमा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



