
बिर्तामोड, ३० असोज । बिर्तामोड नगरपालिकाले वडा नम्बर–३ स्थित बिर्ता बजारमा अनुगमन गरेको छ ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा आज खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा केहि डेट एक्सपायर पेय पदार्थ फेला परेको थियो । अर्विन आछामेले सन्चालन गरेको अम्बिका किराना पसलमा भारतीय ब्राण्डको केही थान ‘निम्बु फ्रेस’ म्याद नाघेको तर बिक्रीका लागि राखिएको फेला परेको थियो ।
अनुगमन टोलीले म्याद नाघेको अखाद्य वस्तु जफत गरी आगामी दिनमा यस प्रकारको गल्ती दोहोरिन नदिन सचेत गराएको छ । यस्तै, गणेश फ्रेस हाउस दुर्गन्धित रहेको पाइएकोले सरसफाईमा ध्यान दिन निर्देशन गरिएको छ । अनुगमनका क्रममा अधिकांशले नगरमा व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको र मूल्यसूची ठिक ठाउँमा नराखेको फेला परेको थियो ।

उनीहरुलाई नगरपालिकामा आवश्यक कागजातसहित ३ दिन भित्र हाजिर हुन निर्देशन गरिएको छ । नगर उप प्रमुख संग्रौलाले अनुगमनलाई नियमित गरिने जानकारी दिनुभयो । जनताको स्वास्थ्यलाई असर गर्ने अखाद्य वस्तु विक्री नगर्न उहांले सबैलाई आग्रह गर्नु भयो । नगर उप प्रमुख संग्रौलाले बजारमा अखाद्य वस्तु वेचेको प्रमाण सहित सुराकी गर्नेलाई नगद ५ सय रुपैयां पुरस्कार प्रदान गरिने पनि बताउनु भएको छ ।
बजार अनुगमनमा कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, वडा नम्बर ३ का वडा सदस्य हरि बांस्कोटा, नगरका राजस्व शाखा प्रमुख पदम घिमिरे , बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य गुन्जन प्रसाई लगायत जनप्रतिनिधि तथा जनपथ प्रहरी र नगर प्रहरीको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



