
बिर्तामोड, ३ कात्तिक । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको रामजानकी बचत तथा ऋण सहकारी संस्था (साकोस) को १५ औं वार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरण भेला सम्पन्न भएको छ ।
गत असोज ३० गते एकैपटक आठ वटा सेवा केन्द्रमा इकाइगत साधारण सभा सम्पन्न गरेको राम जानकीले बिहीबार बिर्तामोडमा एक कार्यक्रमका बीच अन्तिम माइन्यूट प्रमाणीकरण भेला सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाललेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्ष ढकालले सञ्चालक समितिले बढी ऋण लिएर चलाउँदा सहकारी संस्थाहरु धरासायी हुने अवस्थामा पुगेको बताए । उनले सहकारी क्षेत्रलाई व्यवस्थित, सुरक्षित बनाउने कामहरु भइरहेको समेत बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक शुक्रराज भण्डारीले गरेका थिए । आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म ९ हजार ३०२ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २ करोड २४ लाख ४७ हजार २०० रुपैयाँ रहेको छ ।
संस्थाको कुल निक्षेप तथा बचत १९ करोड ८१ लाख ४९ हजार ५०७ रुपैयाँ १६ पैसा, कुल ऋण लगानी २१ करोड ७३ लाख ९ हजार ८८० रुपैयाँ ६१ पैसा, संस्थाले विभिन्न वित्तीय क्षेत्र १० लाख १४ हजार ७०० लगानी गरेको छ भने करकट्टी अघिको मुनाफा १३ लाख ८८ हजार ३६६ रुपैयाँ १३ पैसा रहेको अध्यक्ष राजवंशीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा संस्थाले उत्कृष्ट सेवाकेन्द्र प्रमुखका रुपमा काशीनाथ न्यौपाने र उत्कृष्ट बजार प्रतिनिधिका रुपमा टिकामाया गौतमलाई नगदसहित सम्मान गरेको छ ।
त्यस्तै, उत्कृष्ट बचतकर्ताका रुपमा रोश्ना माबो लिम्बु, कल्पनादेबी लिम्बु, लक्ष्मी खड्का, मुनेखा खातुन, नरमाया कडेल, हसनमञ्जुर आलम, उत्कृष्ट ऋण असुलीकर्ताका रुपमा अनुजा प्रविन, उमा ओझा, मणिराज सेलिङ, नानु ढुङ्गेल, अश्विन काफ्ले र योगेश्वर खतिवडालाई नगदसहित सम्मान गरेको छ । सम्मानित व्यक्तित्वलाई प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथिसहित संस्थाका कार्यकारी प्रमुख दलबहादुर कार्कीले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, गरामनी सहकारीका अध्यक्ष ताराप्रसाद चापागाई, सुनकोशी सहकारीकी उपाध्यक्ष रञ्जु प्याकुरेल, सहकारी अभियान्ता भलाकाजी कठ्ठेत, पत्रकार गोपाल काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



