
बिर्तामोड, २० कात्तिक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको राम जानकी बचत तथा ऋण सहकारी संस्थाले चार जना सदस्यको ऋण मिनाह गरेको छ ।
गत आर्थिक वर्ष २०७९÷०८० मा ऋणी सदस्यको मृत्यु पश्चातपछि उनीहरुको ३ लाख २४ हजार ९७२ रुपैयाँ २९ पैसा ऋण मिनाह गरिएको संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थाका सदस्य कनकाई–२ की बेलाकुमारी दाहाल पौडेल १८ हजार ४८३ रुपैयाँ ५१ पैसा, कनकाई–८ का चन्द्रमाया तिम्सिनाको १६ हजार ७५०, हल्दिबारी–२ का विकास मुर्मूको १ लाख ५७ हजार ३९० र झापा गापा–३ का मोहनकुमारी राजवंशीको १ लाख ३२ हजार ३४८ रुपैयाँ ७८ पैसा ऋण मिनाह गरिएको हो ।
ऋण सदस्यको मृत्यु भएपछि उनीहरुको ऋण मिनाह गर्ने गरिएको संस्थाका कार्यकारी प्रमुख दलबहादुर कार्कीले बताउनुभयो । “सदस्यको मृत्यु भएपछि उनीहरुको ऋण मिनाहसँगै काजकिरिया खर्च समेत दिने गरिएको छ”, उहाँले भन्नुभयो ।
जन्मदेखि मृत्यु पर्यन्त सदस्यलाई सेवा दिन सदस्यले रह सम्भव प्रयास गरिरहेको संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीले बताउनुभयो । “सदस्यलाई सुविधा दिन सदस्यता राहत कार्यक्रम सञ्चालन गरिरहेका छौं”, उहाँले भन्नुभयो, “सबै सदस्यलाई यो कार्यक्रममा सहभागी हुन म अनुरोध गर्छु ।”
२९ जना सेयर सदस्यबाट स्थापना भएको सहकारीमा हाल ९ हजार ३०२ जना सदस्य छन् भने मूल कार्यालय बिर्तामोडसहित ८ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



