
बिर्तामोड, २८ चैत । वडा खेलकूद विकास समिति बिर्तामोड–१ को आयोजनामा भएको प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरीय नकआउट फूटबल प्रतियोगिताको उपाधि गैरीगाउँ टोल विकास संस्थाले जितेको छ ।
आज भएको फाइनल खेलमा पञ्कन्या टोल विकास संस्थालाई २–१ ले हराँदै गैरीगाउँले उपाधी जितेको हो । प्रतियोगिताको विजेता गैरीगाउँले नगद २१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी हात पारेको छ । यस्तै, प्रतियोगिताको उपविजेता पञ्चकन्याले नगद ११ हजार १ सय ११ रुपैयाँ मेडल र ट्रफी प्राप्त गरेको छ ।
यसैगरी, प्रतियोगिताको उत्कृष्ठ गोलकर्ता पञ्चकन्याका अभियान ढुंगेल र उत्कृष्ठ गोलकिपरमा गैरीगाउँका सुनिल यादवले ट्रफी प्राप्त गरे । यस्तै, गैरीगाउँका अंकुश खड्का फाइनल खेलको म्यान अफ द म्याच भए । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको पहिलो पुरस्कार वैदेशिक रोजगार संघ झापा र दोस्रो पुरस्कार क्रियटिभ इन्टरनेश्नल एकाडेमीका संस्थापक एजाज अहमद अन्सारीले प्रायोजन गर्नु भएको थियो । चैत्र २६ गतेदेखि सुरु भएको यस प्रतियोगितामा १० वटा टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो । वडा खेलकूद विकास समितिका अध्यक्ष केशब पोख्रेलले यस प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने जानकारी दिनुभयो ।


