
झापा, २९ चैत । प्रज्ञापन पत्रमा कम मूल्यांकन गरी नेपाल भित्र्याइएको दु्ई भारतीय ट्रकलाई मालसामान सहित नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
झापाको मेचीनगर नगरपालिका–१० निन्दा पुल स्थितमा इलाका प्रहरी कार्यालय धुलाबारी प्रहरी निरीक्षक रोहित कुमार शर्मा बढईको कमाण्डमा खटिएको प्रहरी टोलिले PB23T3485, HR69C4659 भारतीय नम्बर प्लेट उल्लेखित ट्रकहरुलाई शंका लागी चेकजाँच गर्दा उक्त ट्रकहरुमा प्रज्ञापन पत्रमा कम मूल्याङ्कन गरी सामान ल्याइएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
उक्त ट्रकमा लोड भएका फ्रिज, टेलिभिजन, वासिङमेसिन, माइक्रोओभन लगायतका इलेक्ट्रोनिक्स सामानहरु फेला परेकोले उक्त भारतीय ट्रकहरुलाई चैत २७ गते चालकसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको थियो । बुधबार उक्त ट्रकहरुमा लोड भएका मालवस्तुहरुलाई कानुनी रित पुऱ्याई मुल्याङ्कन गर्दा रु ५२ लाख बराबरको बिगो कायम भई राजश्व अनुसन्धान कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको प्रवक्ता चन्दले जानकारी दिनुभयो ।


