
झापा, ४ बैशाख । झापाको बिर्तामोडबाट नक्कली सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको जाल्पागुडी–४० सिलगुढीका ५४ को शेरबहादुर गिरी रहेका छन् । गिरीले ‘मसँग काचो सुन छ, तपाईलाई म ६० हजारमा काचो सुन दिन्छु’ भनेर बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडमा बुद्धशान्ति गाउँपालिका–२ की ४५ वर्षीया सविता सिटौलालाई दिएका थिए ।
सिटौलाले बिस्कुटजस्तो आकारको नक्कली सुन (टिल) दिई ठगेको भनेर इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले गिरीलाई बिर्तामोड–५ शनिश्चरे रोडबाट नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


