
भद्रपुर, ४ बैशाख । झापाको भद्रपुर नगरपालिकाले लोकसेवा र शिक्षासेवा अयोगको तयारी कक्षा तालिम दिएको छ ।
नगरपालिकाको आर्थिक सहयोग र नोभा एजुकेशन फाउण्डेशनको आयोजनामा यहाँका १५० जनालाई तयारी कक्षा तालिम दिइएको नगरपालिकाकी सामाजिक शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो ।
गत फागुन ५ गतेबाट शुरु भएको ५० दिने उक्त तालिमको आज वीरेन्द्र माविको सभाहलमा समापन गरिएको छ । फाउण्डेशनका सस्थापक अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल हुनुहुन्थ्यो । नगर प्रमुख पोखरेलले लोकसेवा र शिक्षासेवाको तयारी कक्षाले लोकसेवा र शिक्षा सेवामा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाकोृ विशेष आतिथ्य रहेको थियो भने सामाजिक विकास संयोजक सीता गुरागाईं, वीरेन्द्र नमूना क्याम्पसका प्रमुख विवेक पोखरेल, वीरेन्द्र माविका प्रअ खिलराज कोइराला, नेल्टा झापा अध्यक्ष धर्मेन्द्र भट्टराई लगायतको आतिथ्य रहेको थियो ।



