
सन्तोष शर्मा
झापा, ५ बैशाख । झापामा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ ।
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा ७६ दशमलव ३७ किलोमिटर सौर्य तारबार निर्माण गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।
झापामा पहिलो पटक बाहुनडाँगीमा २०७३ सालमा रू एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार भएको प्रमुख राईले जानकारी दिनुभयो ।

हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्र अन्तरगत निर्माण गरिएको उक्त सौर्य तारबारको लागत रू पाँच करोड ६५ लाख २७ हजार रहेको छ । यस्तै, २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा रू एक करोड एक लाख ४४ हजारको लागतमा छ दशमलव ३९ किलोमिटर सौर्य तारबार निर्माण गरिएको कार्यालयले जनाएको छ ।
यस्तै, मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी सेक्सन अन्तरगत १६ दशमलव ९८ किलोमिटर सौर्य तारबार निर्माण गरिएको छ । २०८० असारमा निर्माण सम्पन्न भएको उक्त सौर्य तारबारको लागत रू दुई करोड ५३ लाख ९५ हजार रहेको छ ।
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि वन मन्त्रालयद्वारा विनियोजित बजेटबाट डिभिजन वन कार्यालय झापा र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त प्रयासमा सौर्य तारबार निर्माण गरिएको हो ।
विभिन्न समयमा निर्माण गरिएका सौर्य तारबार मर्मतका गनुपर्ने अवस्थमा पुगेको छ । बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मतका लागि करिब रू ३० लाख र जलथल क्षेत्रको लागि रू ४४ लाख ४७ हजार आवश्यक पर्ने प्रमुख राईले जानकारी दिनुभयो ।
नेपालको पूर्वी भागबाट प्रत्येक वर्ष दुई पटक हात्ती प्रवेश गर्ने गर्दछ । बैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस मसान्तसम्म नेपाल प्रवेश गर्दछ ।
२०७५ सालअघि झापामा १०÷१२ वटा हात्ती रैथाने रुपमा बस्ने गरे पनि त्यसपछि उक्त संख्या बृद्धि हुँदै हाल ३५ वटाभन्दा बढी हात्ती वर्षैभरि बस्ने गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
“यसै वर्ष झापाको विभिन्न स्थानमा चार वटा छावा जन्मेका छन्”, प्रमुख राईले भन्नुभयो, “जसले गर्दा पनि हात्तीको संख्या बढ्दै गएको छ ।”
जिल्लामा २०६८ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भइसकेका छ भने २०६२ सालदेखि हालसम्म २० वटा हात्तीको मृत्यु भएको छ । २०६८ सालदेखि गत वर्षसम्म रू ७ करोड १९ लाख ७० हजार छ सय ९७ रकम राहत वितरण गरिएको कार्यालयको तथ्यांक छ ।
हात्तीको आक्रमणमा परी चालू आर्थिक वर्षमा सात जना मृत्यु भएको छ । आलू आवमा हात्तीको आक्रमणबाट जनधनको क्षति भएको पाँच सय ३२ घटनाको रू एक करोड २६ लाख राहत वितरण गर्न बाँकी रहेको कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।


